‘कर्णालीमा ‘स्वास्थ्य सबैका लागि’ भन्ने नाराले गिज्याई रहेको छ’



जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले कर्णालीमा ‘स्वास्थ्य सबैका लागि’ भन्ने संवैधानिक मौलिक हकले गिज्याई रहेको बताएका छन्।

शुक्रबार एक सञ्चार माध्ययमलाई अन्तर्वाता दिने क्रममा निर्देशक रावलले यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘नेपालको संविधानमा उल्लेख गरिएको सबैका लागि स्वास्थ्य भन्ने नाराले कताकता कर्णालीलाई नसमेटेको जस्तो लागेको छ।’

धेरैजसो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको प्रशंसा गरेका रावलले प्रतिस्ठानले कर्णालीका ७ वटा जिल्लाको प्रत्येक गाउँपालिकामा चिकित्सक टोली खटाएर सेवा दिएको बताए।

४२ वटा चिकित्सकको टोलि परिचालन गरेर दुर्गमभेगमा अत्यावश्यक उपचार र कोरोनाको जोखिमबारे सचेतना जगाउने काम गरिएको स्पष्ट पारेका छन्। उनले भने, ‘हामीले विश्वस्त टोलि परिचालन गर्नुको दुईवटा मात्र कारण थियो। पहिलो इमर्जेन्सी टिट्मेन्ट र दोर्सो कोरोनाको बारेमा सचेतना दिनु।’

यसै क्रममा रावलले स्वास्थ्य क्षेत्रमा कर्णाली प्रदेश सरकारको मोडेल उत्कृस्ट भएको बताएका छन्। उनले भने, ‘धेरै मान्छेले संघीयताले राम्रो काम गरेन भन्छन्। स्थानीय सरकार र प्रदेश सरकारले राम्रो काम गरेन भन्छन्। तर, ती मान्छेलाई भन्न चाहान्छु यदि स्वास्थ्य क्षेत्रमा सरकारको काम हेर्न मन भए कर्णाली प्रदेशमा आउनुहोस्।’

तपाईंको सपना के छ ? भनेर सोधिएको प्रश्नको जवाफमा रावलले भनेका छन्, ‘सुगमका नम्बर वान भनिने अस्पतालमा पाइने गुणस्तरिय सेवा कर्णालीमा पाईयोस् भन्ने मेरो एउटै सपना छ।’