कालिकोट पहिरो: एकै परिवारका चारसहित ६ जनाको मृत्यु


कालिकोट। अविरल वर्षाका कारण जिल्लाको महाबै गाउँपालिका वडा नम्बर-३ को नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ।

बिहीबार राती आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार पहिरोमा परी वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिलबहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी दिए। ओलीयाका अनुसार  मृतकको सनाखत हुन बाँकी छ।

त्यस्तै जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर न १ कोटवाडाको डिकेमा हिजो रातीनै पहिरो जाँदा एक घरमा पुर्ण रुपमा क्षती भएको छ। गापाका रोजगार संयोजक दिपेन्द्रबहादुर बढाका अनुसार स्थानीय नरबहादुर बिष्ट र उनकी एक जना नाती च्यापिएका छन्।

संयोजक बुढाले कर्णाली सन्देशसँग भने, ‘मोबाइल सम्पर्क नहुँदा थप खबर आउन सकेको छैन। एउटा घर भत्किएको भन्ने खबर आएको छ। घटना स्थलमा प्रहरी गइसकेको छ। केही बेरमै आधिरिक खबर आउने छ।’