जुम्ला बहुमुखी क्याम्पसमा तालाबन्दी


जुम्ला। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक जुम्ला बहुमुखी क्याम्पस चार दिनदेखि ठप्प छ।

केन्द्रीय विश्वविद्यालयका आंशिक प्रध्यापकहरुलाई करार गरिनुपर्ने मागसहित देशभरका आंगिक क्याम्पसहरुमा यहि साउन १६ गते धर्ना कार्यक्रमको घोषणा गरिएको थियो।

केन्द्रीय निर्णयअनुसार एक सुत्रीय माग राखी आफूहरुले जुम्ला बहुमुखी क्याम्पस्मा ताला लगाएको आंशिक प्राध्यापक संघका अध्यक्ष नरबहादुर घर्तीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्। अध्यक्ष घर्तीका अनुसार केन्द्रले दिएको निर्देशनअनुरुप ताला लगाइएको हो। उनले केन्द्रको अर्को निर्देशन नआएसम्म ताला नखुल्ने बताए।

यता क्याम्पस प्रमुख डा. ओमप्रसाद आचार्य प्रध्यापकहरुले केन्द्रीय सर्कुलेशनभन्दा बाहिर रहेर तालाबन्दी गरेको बताउछन्। उनले भने, ‘मैले नेपालगञ्ज बहुमुखी क्याम्पसमा बुझें, बुट्वल क्याम्पसमा बुझें, सुर्खेत बहुमुखी क्याम्पसमा बुझें। सबैतीर बुझ्दा कुनै पनि क्याम्पसमा आर्थिक प्रसाशनमा ताला लगाएको देखिएन। तर, यहाँ उहाँहरुले लगाइरहुनु भएकाे छ।’

उनले अगाडि भने, ‘क्याम्पस प्रमुखहरुको कार्यकक्षमा ताला लगाउने निर्णय भए पनि हाम्रो क्याम्पसमा सरहरुले सबै प्रसाशनिक काम ठप्प पार्ने गरि ताला लगाइनु उहाँहरुको निर्णय बिपरित भएको ठहर रहेको छ। उहाँहरुलाई आउनुहोस् समझ्दारीमा अघि बढौंभन्दा पनि मान्नु हुन्न।’

यसरी ताला लगाउँदा दैनिक प्रसाशनिक कामका साथै साउन मशान्तसम्म केन्द्रमा बुझाईसक्नु पर्ने आर्थिक लेखापरिक्षण पनि ढिलो हुने सूचना अधिकारी पुर्णबहादुर महतले बताए। महतका अनुसार अन्य विश्वविद्यालयमा स्थायी कर्मचारीले क्याम्पसमा करार गरिनु पर्ने माग राख्नु पनि गैरजिम्मेवारीपूर्ण रहेको बताए।

यता आंशिक प्रध्यापक महेश नेपालीका अनुसार क्यम्पस प्रसाशन संग छलफल गरेर ताला लगाएको बताए। उनले भने,‘हामीले पहिले नै प्रसाशनलाई खबर गरेका हौं। हामी ताला लगाउदै छौं भनेका थियौं।’ उनले पनि केन्द्रको निर्णय अनुसार नै ताला लगाइएको बताए।