गोंगबु घटना: यौन सम्बन्ध र मदिराले निम्त्याएको अपराध


काठमाडौँ। ‘म आज त्यतै बस्न आउँदै छु है,’ शनिबार दिउँसो ३ बजेतिर कृष्णबहादुर बोहराले टोखा नगरपालिका–१० नवज्योति मार्गस्थित घरमा भाडामा बस्दै आएकी कल्पना मुडभरी (पौडेल)लाई फोन गरे। त्यसपछि गोंगबुकै नरसिंहधाम गेस्ट हाउसका सञ्चालकलाई ‘म केही दिन आउदिनँ’ भन्दै निस्किए ।

उनी मंसिरदेखि सो गेस्टहाउसको कोठा नम्बर ४०१ मा बस्थे । नजिकै मदिरा सेवन गरेर उनी बा७२प ५६४४ नम्बरको स्कुटरमा पौडेलको कोठामा पुगे । त्यसअघि नै पौडेलले ‘दही पनि ल्याउनु है’ भनेकी रहिछन् । दही र ७ सय ५० एमएलको रुस्लान भोड्का पनि उनले साथमै लिएर गए ।

झोला पौडेलको कोठामा बिसाएर बोहरा केहीबेर बिस्तरामा पल्टिए। उनी आउनुअघि नै मासु पाकिसकेको थियो। पौडेलका छोराछोरीले मासुचिउरा खाए। उनीहरुले भोड्का पनि पिए। मदिराको नसामा बोहरा लठ्ठिँदै गए। नसा चढ्दै गएपछि बोहरा छोरीमाथि जाइलाग्न थाले। ‘ममी’ भनेर चिच्याए पनि उनले समाउन छोडेनन्। त्यहाँबाट छोरी कोठातिर गइन्। दुव्र्यवहार सहन नसकेपछि पौडेलले आफूले सेवन गर्ने ५ चक्की औषधि दहीमा घोलेर बोहरालाई खान दिइन्। प्रहरीलाई दिएको बयानमा उनले डिप्रेसनको बिरामी भएकाले दैनिक निद्रा लाग्ने औषधि खाने गरेको बताएकी छन्।

केहीबेरमै बोहरा बसेकै ठाउँमा बेहोस भएर शौचालयतर्फ पल्टिए । त्यसपछि पौडेलमा क्रूर अपराधको योजना बन्यो । किला ठोक्ने हथौडा र खुकुरी ९दाउ० ल्याइन् । लठ्ठिएर सुतेका बोहराको अण्डकोषमा पटक–पटक प्रहार गरिन् । हथौडाले हानेपछि उनले एकपटक ‘ऐया’ भनेर मसिनो आवाजमा कराएको पौडेलले बयानमा भनेकी छन् । निद्रा लाग्ने औषधि र मदिरा सेवनका कारण उनी प्रतिकार गर्ने अवस्थामा थिएनन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार बोहराको अण्डकोष फुटेर छालामै मिसिने अवस्थामा पुग्यो । चिकित्सकको पोस्टमार्टम रिपोर्टमा यसलाई ‘ब्लन्ट फोर्स स्क्रोटम’ भनिएको छ ।

शव व्यवस्थापनमा छोरीको सहयोग

घटना शनिबार राति ११ बजेतिर भएको प्रहरीले अनुमान गरेको छ । हत्यापछि शौचालयको ढोकाको डिलमा लगेर पौडेलले घाँटी काटिन् । घुँडामुनि दुवै खुट्टा छिनाइन् । त्यसलाई प्लास्टिकमा हालेर नजिकै लगेर मिल्काएर आइन् । तर, टाउको र खुट्टाबाहेक बाँकी रहेको शरीर सुटकेसमा हालेर लैजान खोज्दा एक्लै सकिनन् । घटनाबारे सबै कुरा जानकारी गराएपछि छोरीकै सहयोगमा व्यवस्थापन गरिन् । बाँकी शरीर कालो सुटकेसमा हालिन् । नाम्लोले बाँधेर छोरीसँगै फेरि निस्किइन् । त्यसबेला बिहानको ३ बजिसकेको अनुसन्धानबाट खुलेको छ । कोठामा फर्किएर उनले दशीप्रमाण लुकाइसकेकी थिइन् । घटनापछि चितवनस्थित माइत भाग्ने योजना बनाइन् । राति नै चितवन टाँडीनजिकै माधवपुरमा रहेकी आमालाई फोन गरेर आफू आउन लागेको जानकारी गराइन् । चितवनमै भिनाजु नाता लगाउँदै एक व्यक्तिलाई आफूलाई लिन काठमाडौं आउन आग्रह गरिन् । एम्बुलेन्स चालक ती व्यक्ति आइतबार दिउँसो ४ बजे काठमाडौं आइपुगे । ६ हजार भाडा लिएर उनले पौडेल र उनका छोराछारीलाई माधवपुर पुर्‍याए ।

चितवन हिँड्नुअघि प्रहरीले पौडेल बसेको घरवरिपरि घेरा हालिसकेको थियो । अग्लो घर भएकाले घटना त्यहीँ भएको भन्ने शंका प्रहरीले गरेन । तल कुकुर र सुरक्षाकर्मी घुमिरहँदा माथि झ्यालमा पर्दा लगाएर पौडेल सानो प्वालबाट बाहिरको गतिविधि नियालिरहेकी थिइन् । ४ बजेपछि एम्बुलेन्समा छोराछोरीसहित उनी चितवन लागिन् । उनी निस्किइसकेपछि मात्रै प्रहरीले घर घेरा हालेको थियो । नजिकै बेवारिस स्कुटर देखेपछि खोज्दै जाँदा प्रहरी उनी बसेको कोठासम्म पुग्यो । तर कोठामा ताल्चा लागेपछि प्रहरीमा शंका उब्जियो । कोठाभित्र स्कुटरको चाबी फेला परेपछि घटनामा पौडेल नै संलग्न भएको निष्कर्षनजिक प्रहरी पुगेको थियो ।

पौडेल १५ वर्षकी छोरी र १३ वर्षका छोरासहित केही वर्षदेखि नवज्योति मार्गको एक घरमा मासिक ११ हजार भाडा तिरेर बस्दै आएकी थिइन् । उनकी जेठी छोरीको गतवर्ष विवाह भएको थियो । श्रीमान्बाट अलग्गिएर बस्न थालेकी उनी र बोहराबीच ३र४ वर्ष पहिलेदेखि नै चिनजान थियो । उनको नियमित आम्दानीको स्रोत केही छैन । सुन्धारामा १० लाखमा काँक्रेबिहार थकाली रेस्टुराँ चलाउँदै आएका बोहरा व्यापारमा घाटा खाएपछि भागेर लुकीछिपी बस्दै आएका थिए । उनले साहूलाई ६ लाख रुपैयाँ पैसा दिन बाँकी रहेको खुलेको छ । प्रहरीका अनुसार वैदेशिक रोजगारीका क्रममा दुबई, टर्की, अफगानिस्तानलगायत मुलुकमा बसेर साढे ३ वर्षअघि नेपाल आएका थिए, बोहरा । रोल्पा स्थायी घर भई पछि दाङ सरेका उनी वैदेशिक रोजगारीबाट फर्केपछि काठमाडौंमै बस्थे । विदेशमै रहँदा उनको पौडेलसँग फेसबुकमार्फत चिनजान भएको थियो । फेसबुकबाटै दुवैको सम्बन्ध गहिरिँदै गएपछि भेटघाट बाक्लिन थाल्यो । ‘पहिले पनि जबर्जस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाउँथ्यो, मेरो टाउको अरूको नग्न तस्बिरमा राखेर फेसबुकमा हाल्थ्यो, त्यहीँबाट ब्ल्याकमेलिङ गर्दै शारीरिक सम्पर्क राख्थ्यो,’ पौडेलले प्रहरीसँग भनेकी छन् ।

जब लतपतिएको सुटकेस भेटियो

नवज्योति मार्गमा आइतबार बिहान ७ बजेतिर पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा रगत लतपतिएको सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे । सुटकेसमा टाउको र घँुडामुनि दुवै खुट्टा नभएको पुरुषको शव फेला पारेको थियो । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोली घटनास्थल पुग्यो । केहीबेरमै महाशाखा प्रमुख एसएसपी दीपक थापा र परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली पनि अनुसन्धान अधिकृतहरुसहित घटनास्थल पुगे । प्रहरीले डग स्कुलबाट जोजो नामक कुकुर झिकाएर अनुसन्धान अघि बढायो । कुकुरले नै सुँघेर सुटकेस भेटिएको ठाउँबाट करिब ३ सय मिटर उत्तर पूर्वतर्फ स्वर्गद्वारी मार्गमा प्लास्टिकमा बेरिएको अवस्थामा टाउको र दुवै खुट्टा फेला पार्‍यो ।

टाउको भेटिएको स्थानबाट कुकुर एक किमि पर चौबाटोमा सिद्धेश्वर मन्दिरसम्म पुग्यो । त्यसबीच महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा परिसर र महाशाखाको संयुक्त टोली हत्यारा पत्ता लगाउन खटिइसकेको थियो । मृतकको टाउको र खुट्टा फेला पार्ने कुकुरकै नाममा ‘अप्रेसन जोजो’ अघि बढाइयो । केही समययपछि महाशाखा र परिसरका प्रहरी सम्मिलित ५ वटा टोली खटियो । सोमबारसम्म पनि आफन्त सम्पर्कमा नआएपछि प्रहरीले मृतकको अनुहारसहितको हुलिया सार्वजनिक गरेपछि मात्रै उनी रोल्पा स्थायी घर भई काठमाडौं बस्ने कृष्णबहादुर बोहरा भन्ने थाहा भयो । नयाँबजारका स्थानीयले उनी त्यहाँको एक गार्मेन्टमा काम गर्ने व्यक्ति भएको जानकारी दिए । रोल्पाबाट आफन्तले सम्पर्क गरेपछि शवको सनाखत भयो । त्यसबेलासम्म त्रिवि शिक्षण अस्पतालले हत्याअघि उनले मादक पदार्थ सेवन गरेको तथ्य प्रहरीलाई दिइसकेको थियो ।

४८ घन्टासम्म प्रहरी घेरामा गोंगबु

बोहराको शव भेटिएपछि ४८ घण्टासम्म पनि घटनामा कसको संलग्नता भन्ने सुइँको प्रहरीले पाउन सकेन । काठमाडौंका नाका र शव भेटिएको स्थलवरपर करिब डेढ सय प्रहरी खटाएर महाशाखा र काठमाडौं परिसरले अनुसन्धान गरेको थियो । महाशाखा एसएसपी दीपक थापाका अनुसार परिसर र महाशाखाका प्रमुखसहितको ‘इन्सिडेन्ट म्यानेजमेन्ट टिम’ पनि गठन गरिएको थियो । घटनामा महाशाखा र परिसरको संयुक्त प्रयासमा यति छिट्टै अपराधी पत्ता लागेको सम्वभतस् पहिलो भएको एसएसपी थापा बताउँछन् ।

महाशाखामै प्राविधिक अनुसन्धान टोलीलाई पनि सक्रिय पारिएको थियो । स्रोतका अनुसार प्रहरीले गोंगबु क्षेत्रमा पछिल्लो एक सातायता भएका मोबाइल सम्पर्कको प्राविधिक अनुसन्धान पनि थालिसकेको थियो । ‘हामी अनुसन्धानका सबै उपायलाई खुला राखेर अघि बढेका थियौं,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले भने, ‘त्यसकै नतिजा पक्राउ गर्न सफल भयौं ।’

अनुसन्धानकै क्रममा प्रहरीले गोंगबुरसामाखुसी क्षेत्रमा १ हजार ५ सयभन्दा बढी घर र खानतलासी गरेको थियो । त्यहीबीच अनुसन्धान साँघुरो बनाउँदै लैजाने क्रममा दुइटा मोबाइललाई निगरानीमा राख्यो । एउटा फोन चितवनका दुई जनालाई गरेको भेटियो । त्यसपछि महाशाखाले प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली मोबाइल ट्रयाकिङ गर्दै पुग्यो । मारिएका व्यक्तिले शनिबार दिउँसो ३ बजेतिर चितवनमा सम्पर्क गर्ने मानिसलाई फोन गरेको देखियो । चितवनमा फोन गर्ने मानिस र फोन उठाउनेलाई पनि निगरानी राखेर प्रहरीले सम्पर्क गर्‍यो । शंका गरिएका व्यक्तिले चितवनकै एम्बुलेन्स चालकलाई फोन गरेको पत्ता लाग्यो । चालकसँग प्रहरीले सोधपुछ गर्दा काठमाडौंबाट अकस्मात् लिन आउन भन्दै फोन आएको स्वीकार गरे । ६ हजार भाडा लिएर ती महिलालाई लिन गोंगबु आएको बताए ।

कान्तिपुरका अनुसार चितवनको कालिका नगरपालिका–७ घर भएकी पौडेल एम्बुलेन्समार्फत चितवनकै कालिका नगरपालिका–९ शक्तिखोरस्थित माइती पुगेकी थिइन् । त्यहीँबाट पक्राउ परिन् ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पौडेलले बोहराले छोरीसँग यौनसम्पर्क गर्ने मनसायले नजर लगाएको, आफ्नो नाममा नक्कली फेसबुक खोलेको, टाउको आफ्नो राखेर अरूकै नग्न तस्बिर जोडेर पटकपटक बेइज्जत गरेको, शारीरिक सम्पर्क गर्न नदिए ज्यान मार्ने धम्की दिएको लगायत कारणबाट आफू तनावमा रहेको बयान दिएकी छन् । आफैंले चलाउने गरी बोहराले कल्पना शाहीका नाममा फेसबुक अकाउन्ट खोलेका थिए । एसएसपी थापा राजधानीमा अस्वाभाविक सम्बन्ध र हिमचिमका प्रवृत्ति मौलाउँदै गएको र प्रतिशोध र रिसइबी बढ्दै जाँदा त्यसले हत्याको रूप लिने गरेको बताउँछन् ।