बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी अधिकारी थुनामा


पोखरा। आफ्नै क्वार्टरमा एक महिलालाई खाना खान बोलाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रकुमार अधिकारीलाई मंगलबार पूर्पक्षका लागि थुनामा पठाइएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनी कास्की जिल्ला कारागार चलान भएका हुन्।

‘मिसिल संलग्न तत्काल बुझिएका प्रमाण र कागजबाट प्रतिवादी (अधिकारी) निर्दोष रहेछन् भन्ने अवस्थाको विद्यमानता नभएको आदेशमा रहेको’ कास्की जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्ययाले बताए। पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम नै हुने हुँदा हाल प्रतिवादी राजेन्द्रकुमार अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ। ‘सोही संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिइ जिल्ला कारागार पठाउनु’ आदेशमा छ।

कान्तिपुरका अनुसार पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका प्रमुख अधिकारीमाथि एक महिलालाई आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गरेको आरोप थियो। महिलाको उजुरीका आधारमा कास्की प्रहरीले असार ३१ (घटना भएकै दिन) मा अधिकारीलाई पक्राउ गरेको थियो।

प्रहरीले घटनाको अनुसन्धान गरी गत बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालय कास्कीमा पेश गरेको थियो। न्यायाधिवक्ताको कार्यालयले आइतबार जिल्ला अदालतमा पेश गरेको थियो।

घटना भएको दिन दिउँसो ३ बजेतिर कन्ट्रोल रुममा २७ वर्षीया एक युवतीले रुँदै आफूलाई अधिकारीले खाना खान बोलाएर जबरजस्ती गरेको मौखिक उजुरी दिएकी थिइन्। प्रहरीले अधिकारीलाई झाडीमा लुकेको अवस्थामा कार्यालय परिसरमै भेटाएको थियो। अधिकारीको घटनाको अघिल्लो दिनमात्र सरुवा भएको थियो। उनलाई पोखराबाट सशस्त्र प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको थियो।