प्रदेश ५ कि सांसद नमूनालाई कोरोना पुष्टि


कोहलपुर। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले जनस्तरमा प्रवेश गरेको छ। खासगरी नेपालको पद्रेश नम्बर २ र ५ का सर्वसाधारण जनतामात्रै नभएर जनप्रतिनिधि, सांसद, मन्त्रीहरुमा समेत कोरोना पुष्टि भइरहेको छ।

यसै क्रममा प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनले शनिबार राति आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएकी हुन्।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ घर भएकी सांसद केसीले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन्।

‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन्।

भेरी अस्पताल नेपालगन्जमा शनिबार गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । शनिबार बाँकेका ७ जना महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए।