युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो


काठमाडौँ। टुरिन-युभेन्टसविरुद्धको दोस्रो लेगको खेल शुक्रबार २–१ ले गुमाएर पनि लियोनले युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल यात्रा तय गरेको छ। क्रिस्टियानो रोनाल्डोले खेलमा दुई गोल गरे पनि त्यो युभेन्टसका लागि पर्याप्त रहेन।

पहिलो लेगमा फ्रान्सेली टिम १–० ले विजयी रहेको थियो। दुई टिमबीचको टाइ २–२ को बराबरी रहेको स्थितिमा लियोन ‘अवे गोल’ को आधारमा अन्तिम आठमा पुग्न सफल रहेको हो। अब उसले म्यानचेस्टर सिटीको सामना गर्नेछ।

लियोनले दोस्रो लेगमा मेमफिस डेपेले १२ औं मिनेटमा पेनाल्टीबाट गरेको गोल मदतले अग्रता लिएको थियो। त्यस स्थितिमा क्वाटरफाइनल पुग्न इटालीको च्याम्पियन टिमलाई तीन गोलको आवश्यकता थियो। रोनाल्डोले यसका लागि पूरा प्रयास गरे पनि सकेनन्। उनले सुरुमा पेनाल्टीबाट एक गोल गरे र पछि ६० औं मिनेटमा दोस्रो व्यक्तिगत गोल पनि थपे।