बाढी पीडितलाई राहत प्रदान गर्न मुख्यमन्त्री र कानूनमन्त्री कालिकोटमा



कालिकोट। बाढी-पहिरोका कारण सहजतामा परेका नागरिकहरुलाई राहत प्रदान गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट पुगेका छन्।

बिहिबार मुख्यमन्त्री शाहीसँगै आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीको उपस्थितिमा जिल्लाको रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका र सान्नित्रिवेणि गाउँपालिकाका बाढीपीडितलाई खाद्यन्न प्रदान गरिएको हो।

मुख्यमन्त्री शाहीका अनुसार रास्कोट नपाका लागि सय क्वीन्टल चामल, खाँडाचक्र नगरपालिकामा २५, नरहरिनाथ गाउँपालिकामा ५० र सान्नित्रिवेणि गाउँपालिकामा २५ क्वीन्टल चामल प्रदान गरिएको हो।

प्रदेश सरकारले पीडितका लागि खाद्यसँगै लत्ता कपडा र पालसमेत प्रदान गरिएको छ। त्यस्तै नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले मुख्यमन्त्री स्वयं पीडित क्षेत्रमा पुगेर प्रारम्भीक राहत प्रदान गरेको बताए।

बाढी-पहिरोका कारण कालिकोटमा १७ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका थिए। १५ करोड भौतिक क्षति भएको छ। प्रदेश सरकारले बाढीका क्रममा मृत्यु भएका परिवारलाई २ लाख र संघीय सरकारले २ लाख राहत दिने र घर भत्किएकाहरुको लागि घर निर्माण गर्न १ लाख सहयोग गर्ने घोषणा गरिसकेको छ।