भाग्य न्यौपानेद्वारा क्षमा याचना


काठमाडौँ। चर्चित यट्युवर भाग्य न्यौपानेले एक बालगृहकी सञ्चालिका पुष्पा अधिकारीसँग लिएको अन्तरवार्तामा सामाजिक दुरी कायम नगरिएको र पत्रकार आचारसंहिताको खिलाप भएकोप्रति माफि मागेका छन्।

मंगलबार ‘तात्तातो खबर’ नामक युट्युवमा अपलोड गरिएको ‘बच्चा भेटिएको सबै नाटक रहेछ, भाग्य न्यौपाने पुगेर गरे पर्दाफास’ भन्ने शीर्षक भिडियो भाइरसल बनेपछि उनलाई विभिन्न माध्ययमबाट महिला संवेदनामा ख्याल नगरेको आरोप लागेका थिए।

त्यस्तै अनलाइनखबर डिजिटल पत्रिकाले ‘युट्युबरको कठघरामा एक महिलाको ‘चीरहरण’ शीर्षकमा समाचारसमेत प्रकाशित गरेको छ।

उनले बुधबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘पछिल्लो समय तात्तातो खबरको युट्युब च्यानलमा अपलोड भएको पुष्पा अधिकारिको अन्तर्वार्तालाई लिएर धेरैले समालोचनात्मक प्रतिक्रिया दिनुभएको छ। उक्त अन्तर्वार्तामा धेरैले संवेदनशील विषय महिलालाई दुर्यव्यवहार र पत्रकारको आचारसंहिता को कुराहरु उठाउनुभएको छ, यस्तो संवेदनशील बिषयलाई उक्त अन्तर्वार्तामा जोडिएकोले मेरो उक्त प्रतिक्रियाप्रती ध्यानाकर्षण भएको छ। साउन १३ गते पुष्पा अधिकारिले एउटा शिशु भेटेकोकुरा मिडियामा अत्यन्तै चर्चित बन्यो त्यस दिनको भोलिपल्ट केयर बाल गृहमा हामी वास्तविकता बुझ्न उक्त संस्थामा पुग्यौँ। पुष्पा अधिकारिसँग सम्पुर्ण कुराहरु सोध्यौँ। उक्त बच्चाको हेरबिचारको लागि सहयोगपनी हस्तान्तरण गर्यौँ र त्यहाँ उनले बोलेको कुरा र पछि आएको अभिव्यक्ति नमिलेको कारणले मलाई व्यक्तिगत रुपमा धेरैले म्यासेज तथा कलहरु गरेर त्यस्को वास्तविकता के हो ? भनेर सोध्नुभयो।’

उनले अगाडि लेखेका छन्, ‘त्यसैले फेरि म केयर बाल गृहमा दोस्रो पटक पुगेँ र त्यो बेला म आक्रोषित पनि भएँ त्यसैले आक्रोषमा मैले समाजिक दुरि कायम गरिन जुन मेरो गल्ती हो, साथै नियतवश मैले कुनैपनी हिसाबले पुष्पा अधिकारिलाई दुर्व्यवहार गरेको होइन र म त्यस्तो व्यवहारको बिरोध गर्छु र अगामिदिन यस्तो विषयप्रती अझ संवेदनशील हुनेछु। मेरो उक्त भिडियोको कारणले महिला संवेदनामा आँच पुग्न गएकोमा म माफी चाहान्छु। यो विषयमा समालोचनात्मक प्रतिक्रिया गरि मलाई सजग गराउनुहुने सबैप्रती म आभार प्रकट गर्न चाहान्छु।’