त्रिवि शिक्षण अस्पताल: प्लाज्मा थेरापीले जगायो नयाँ आशा


काठमाडौँ। मुलुकमा पहिलो पटक ‘कोभिड–१९’ संक्रमितको कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट सफलतापूर्वक उपचार गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको आईसीयूमा उपचाररत बिरामीको स्वास्थ्यमा प्लाज्मा थेरापीपछि उल्लेखनीय सुधार देखिएको छ । पेसाले चिकित्सक रहेका ६० वर्षीय ती संक्रमितमा गत बिहीबार राति प्लाज्मा दिएर उपचार गरिएको हो ।

शिक्षण अस्पतालको कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा।सन्तकुमार दासले प्लाज्मा थेरापीको ४८ घण्टापछि बिरामीको एक्स–रे प्रतिवेदनमा निमोनियामा करिब ७० प्रतिशत सुधार देखिएको जानकारी दिए । ‘यस्तै स्थिति रहे एक–दुई दिनमा बिरामीलाई आईसीयूबाट बाहिर निकाल्छौं,’ उनले भने ।

ती बिरामी ९ दिनअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट रेफर गरिएर शिक्षण अस्पतालमा आएका थिए । अस्पताल आउँदा बिरामीमा बाइल्याटरल निमोनिया (दुवै फोक्सोमा संक्रमण) देखिएको थियो । अस्पतालमा विशिष्ट उपचारअन्तर्गत डेक्सामिथासोन थेरापी र एन्टिभाइरल औषधि रेम डेसिभिर सुरु गरिएको थियो । ‘रेम डेसिभिर नेपालमा उपलब्ध नभएकाले भारतबाट मगाइयो, तर उपचार दिएको पाँच दिनपछि समेत खासै सुधार भएन,’ डा. दासले भने ।

विशिष्ट उपचारबाट कुनै सुधार नदेखिएपछि कोभिड व्यवस्थापन समितिले प्लाज्मा थेरापी गर्ने निर्णय गरेको थियो । अस्पतालका स्वास्थ्यकर्मीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग समन्वय गरेर बिरामीको उपचारमा उपयोग हुने प्लाज्माको व्यवस्था गरिएको थियो । ‘हामीले कोरोना निको भइसकेका व्यक्तिबाट एक पिन्ट रगत लिएर त्यसबाट करिब २०० मिलिलिटर प्लाज्मा निकाल्यौं,’ डा।दासले भने, ‘गत बिहीबार राति ९ बजे बिरामीलाई प्लाज्मा ट्रान्सफ्युजन ९चढाउन० सुरु गरेका थियौं । करिब दुई घण्टामा यो प्रक्रिया सकियो ।’

डा. दासका अनुसार बिरामीलाई अन्य पुरानो उपचार पनि जारी राखिएको थियो । प्लाज्मा थेरापी दिएको अर्को दिन बिरामीमा सुधारको लक्षण देखिन थाल्यो । पहिले बिरामीलाई अक्सिजनको आवश्यकता ८०–९० प्रतिशत भए पनि प्लाज्मा थेरापीपछि घट्दै गएर हाल २४–२८ प्रतिशत मात्र अक्सिजन चाहिएको छ ।

प्लाज्मा थेरापीको दोस्रो दिन बिरामीमा देखिएको निमोनियामा समेत करिब ७० प्रतिशत सुधार भएको छ । ‘उहाँ ९बिरामी० आफै हिँडडुल गर्न सक्नुहुन्छ,’ डा। दासले भने, ‘उहाँको श्वासको गति सामान्य छ अर्थात् प्रतिमिनेट १६ देखि १८ पटकसम्म सास फेर्नुहुन्छ ।’

उपचारमा संलग्न चिकित्सकहरूले प्लाज्मा थेरापीबाट यति छिटो र बढी सुधारको आशासमेत गरेका थिएनन् । प्लाज्मा थेरापी नगरिएको भए भेन्टिलेटर आवश्यक पर्न सक्ने अवस्थामा बिरामी थिए । डा।दासले एक–दुई दिनमा बिरामीलाई आईसीयूबाट बाहिर निकालेर पुनस् पीसीआर परीक्षण गर्ने र नतिजानेगेटिभ आए घर पठाइने बताए ।

त्रिवि, शिक्षण अस्पतालका चिकित्सकहरूले अर्को बिरामीमा समेत प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरेका छन् । ती संक्रमित ३० वर्षका छन् । उनलाई समेत बाइल्याटरल निमोनिया देखिएको छ । दुई दिनअघि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्यासहित वीरगन्जबाट रेफर भएर उनी शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

सबैभन्दा पहिले त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी सुरु भए पनि देशभरका १२ वटा निजी र सरकारी अस्पताल कन्भलेसेन्ट प्लाज्मा थेरापी सुरु गर्न तम्तयार अवस्थामा रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार धुलिखेल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ग्रान्डी इन्टरनेसनल, मेडिसिटी, ह्याम्स अस्पताल प्लाज्मा थेरापीका लागि तयारी अवस्थामा छन् । कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल, नेपालगन्ज अस्पताल, सेती अस्पतालमा समेत जुनसुकै बेला प्लाज्मा थेरापी सुरु गर्न सकिने डा। ज्ञवालीले बताए ।

यो उपचार प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ ।

प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ । यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो ।

कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुन्छ ।

कान्तिपुर दैनिकका अनुसार प्लाज्मा थेरापी सय वर्षभन्दा बढी समयदेखि विभिन्न भाइरल रोगमा सफलतापूर्वक प्रयोग गरिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार करिब १ सय २० वर्ष पहिले जर्मनीका वैज्ञानिक एमिलवान बेहरिङले टिटानस र डिप्थेरियाको उपचार प्लाज्मा थेरापी पद्घतिबाट गरेका थिए । उनले प्लाज्माको सक्रिय पदार्थलाई ‘एन्टिबडी’ को नामसमेत दिए ।

कोभिडको उपचारका लागि प्लाज्मा थेरापी सबैभन्दा पहिले चीनमा खोजिएको थियो । डा। अधिकारीका अनुसार भारतसहित अन्य केही मुलुकमा यो थेरापीको उत्साहजनक परिणाम देखिएको छ । कोभिड–१९ विरुद्घ प्रभावकारी खोप नबनेसम्म प्लाज्मा थेरापी कोरोना भाइरसका जटिल बिरामीका लागि प्रभावकारी उपचार हुन सक्ने विज्ञहरूले बताएका छन् । यसअघि सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम ९सार्स०, स्वाइन फ्लुलगायत थुप्रै रोगको उपचारमा प्लाज्मा थेरापीको उपयोग भइसकेको छ ।

कोरोना जितेकाहरूले एक पटकभन्दा बढी प्लाज्मा दान गर्न सक्छन् । सातामा दुई पटकसम्म प्लाज्मा दान गर्न सकिन्छ । एक जनाले ४ सय मिलिलिटर दान गर्न सक्छन् । कोरोना निको भएका एक व्यक्तिको प्लाज्माले दुई जना संक्रमित निको हुन उपयोगी हुन्छ । एक व्यक्तिको उपचारमा २ सय मिलिलिटर प्लाज्मा पर्याप्त हुन्छ । कोरोना संक्रमण निको भएको १४ दिनपछि प्लाज्मा दिन सकिन्छ । खोपको दाँजोमा प्लाज्मा थेरापीद्वारा दिइएको सुरक्षा अस्थायी हुनेसमेत डा। अधिकारी बताउँछन् ।