कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधिक प्रविधिको मेसिन जोडिदै



जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोना परीक्षण गर्ने नयाँ मेसिन जडान गर्ने भएको छ।

केन्द्र सरकारले प्रत्येक प्रदेश्का लागि ल्याइएको ७ वटा एक्स्ट्रयाक्सन मेसिनमध्ये प्रतिस्ठानमा जडान गर्न लागिएको हो। आइतबार यो मेसिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए।

यसको क्षमता दैनिक कम्तिमा एक हजार स्वाब परीक्षण गर्न सक्ने हुन्छ। रावलका अनुसार यो एक्स्ट्रयाक्सन सिस्टमले पिसिआर मेसिनले ६ घण्टामा गर्ने काम ३५ मिनेटमा गर्छ।

‘स्वाब परीक्षण गर्ने दुईवटा विधि हुन्छ, जसमध्ये एउटा पिसिआर हो भने अर्को एक्स्ट्रयाक्सन हो,’ उनले भने, ‘एक्स्ट्रयाक्सन सिस्टमबाट पिसिआर प्रणालीले ६ घण्टामा गर्ने ३५ मिनेटमा सम्पन्न हुन्छ।’

कोरोना जाँच गर्न स्वाब परीक्षण गर्ने कार्यमा अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान काठमाडौंपछिको दोस्रोमा पर्छ। यो एक्स्ट्रयाक्सन सिस्टम जडान भएसँगै झनै सहज हुने डा.रावलले बताए।

गत हप्ता जुम्लालाइ कोरोना पोजेटिभ मुक्त जिल्ला भनेर घोसणा गरिय पनि कतिपय जुम्लाबासिले हतारको संज्ञा दिएको बेला यो मेसिन जडान हुने थाहा पाउँदा कर्णालीबासीले ठूलो राहत पाउने छन्।