कालिकोटमा बाढी-पहिरोको वितण्डा (फोटो फिचर)



कालिकोट। अविरल वर्षापछि कालिकोटका विभिन्न क्षेत्रमा आएको बाढि र पहिरोको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले निरिक्षण गरेका छन्।

शुक्रवार हेलिकप्टर मार्फत मुख्यमन्त्री शाही, कर्णाली प्रदेश सभा सदस्य कुर्मराज शाही, सम्बन्धित स्थानिय तहका प्रमुख, प्रहरी प्रमुख लगायत पहिरो प्रभावित क्षेत्र पुगेका थिए।

निरिक्षण संगसंगै जिल्ला विपत व्यवस्थापन समितिको वैठकमा मुख्यमन्त्री शाहीले, बाढी र पहिरोले बगाएका घरहरु प्रदेश सरकारले बनाईदिने प्रतिवद्धता जनाए। कालिकोट बाढी र पहिरोको उच्च जोखिम क्षेत्र रहेको मुख्यमन्त्री शाहीले बताए। बाढि र पहिरोले बगाएका घरहरुको पहिचान गरि प्रदेश सरकारले घर बनाई दिने उनको भनाई थियो। मृत्यु भएकाका परिवारलाई दुईलाख राहत दिने पनि उनले बताए।

यस्तै बाढि र पहिरोको उच्च जोखिममा रहेका घरहरुलाई सुरिक्षित स्थानमा सार्ने ,प्रत्येक वडामा स्वयम सेवक परिचालन गरि विपत जोखिम न्युनिकरण गर्न निर्देशन समेत दिए।

वैठकमा यहाँका राजनितिक दल र स्थानिय नागरिकहरुले कालिकोटका गाउँ गाउँमा आएको बाढी र पहिरो अहिले सम्मकै ठुलो भएको बताएका थिए। नेपाल मजदुर किसान पाटिका केन्द्रिय सदस्य नन्दबहादुर शाहीले, गाउँ गाउँमा भिषण पहिरो आउनुको कारण विकासको नाममा प्रयोग भएको डोजर भएको टिप्पणी गरे।

‘अहिलेसम्म गाउँमा यति ठुलो पहिरो कहिलै आएको थिएन। पहिला कर्णाली राजमार्गमा मात्रै आउथ्यो। स्थानिय सरकारले गाउँगाउँमा डोजरले सडक खन्दा यो पहिरो आएको हो।’ राष्ट्रिय जनमोर्चाका नेता मिनबहादुर शाहीले गाउँमा डोजरले बाटो खन्दा बाढी र पहिरोको सिकार हुनु परेको बताए।