यि हुन् तीजको मौलिकता ध्वस्त पार्ने कलाकारहरु



काठमाडौँ। संस्कृति विद् सत्यमोहन जोशीका अनुसार देशको पहिचान भनेको मौलिक संस्कृति हो। जुन अनादी कालदेखि चल्दै आएको हुन्छ।’

यस भनाईलाई आधारमा मान्ने हो भने हाम्रो देशमा मौलिखता बोकेका धेरै संस्कृतिहरु छन्। यस समाचरमा खासगरी नेपाली हिन्दु नारीहरुको महान पूर्व हरितालिका तीजका सन्दर्भमा केही चर्चा गरिने छ।

वैदिक सनातन धर्म परम्पराका बिभिन्न पौराणिक एबं आध्यात्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार यस पर्वलाई हरियाली तीज, काजरी तीज, केभाडा तीज, अखा तीज, काजल तीज, तीजरी तीज आदि नामले चिनिन्छ।

हरितालिका तीज नेपाललगायत भारतका बिभिन्न स्थानहरूमा धुमधामसंग मनाउने गरिन्छ। अहिले आएर संसारका बिभिन्न देशमा नेपाली र भारतीय समूदायले तीज पर्व मनाएको पाईन्छ।

भनिन्छ, भगवान विष्णुसँग बिवाह गराउन थालिएकी पार्वतीलाई लुकाएर उनका साथीहरुले कठोर तपस्यामा बसालेपछि भगवान् शिवसँग विवाह भएको थियो। जसको अर्थ पार्वतीले नारी जातीको आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई ब्यवहारीक रूपमा स्थापित गराउन तपस्या सत्याग्रह र शान्ति पूर्ण आन्दोलन गरेर आफू अनुकूल वर छान्न सफल भएकी थिइन्। यस अर्थमा पार्वतीलाई नारी जातीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौं।

तीजसँगै जोडिएको अर्को राम्रो पक्ष भनेको मौलिक गीतसंगीत हो। तीजको अवसरमा नारीहरुका बेदना, अवस्था र गाथाहरु गाउने गरिन्छ। तर, बिगत केही वर्षहरूदेखि आधुनिकताको नाममा, परिवर्तनको बहानामा, सस्तो लोकप्रियता, सजिलो आय आर्जनको लोभमा, तीज जस्तो पवित्र चाडलाई विकृति-विसंगति र यौन स्वच्छन्दताको शिकार बनाईदै छ। उच्छृंखल र छाडा गीत, संगीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रियता र सहज आर्जन गराए पनि कालान्तरमा वैभवशाली संस्कार, संस्कृति एवं परम्परालाई पटक्कै फाईदा पुग्ने छैन।

‘यि हुन् तीजको मौलिकता ध्वस्त पार्ने कलाकारहरु’

कलाकारहरु देशका गहना हुन्। सबै कलाकारहरु देशका गहना भने बन्न सक्दैनन्। यो धुव्रसत्य कुरा हो। सके राम्रो काम गर्ने, नभए नराम्रो गर्नु हुँदैन भन्नेसम्मको मान्यता मात्र हरेक कलाकारहरुले बोक्ने हो भने ‘देश विगार्ने नेता, संस्कृति विगार्ने कलाकार’ जस्ता शीर्षकमा सामाचारहरु प्रकाशित गर्नुपर्ने थिएन।

चर्चा, धनलाभ र सस्तो लोकप्रियताको नाममा संस्कृतिमाथि प्रहार गर्ने, भत्काउने र धावा बोल्ने छुट जो कसैलाई हुँदैन। अधिकार हुन्छ त, सक्छौं राम्रो गर, सक्दैनौं चुप बस। आफ्नो सक्ने काम गर। तर, यहाँ त जबरजस्त कलाकार बन्ने दौड छ। बदनाम भएर पनि चर्चाको चाहत छ। कहिले चर्चामा नआएर कलाकार बन्ने सकिँदैन? भाइरलको जमनाको हवाला दिदै आफ्नो संस्कृति बिगार्न पाईन्छ ? आफूले कुनै राम्रो र साराले स्वीकार गर्ने संस्कृति निमार्ण नगर्ने, अरुले बनाएको संस्कृतिलाई भत्काउने अधिकार हामीलाई हुन्छ ?

हेरक वर्षझैं यसवर्ष पनि कलाकारको आवरणमा सस्तो लोकप्रियता र मनग्य आम्दानी गर्ने अभिप्रायले तीजगीतहरु बजारमा पठाउने काम भए। खासगरी गीत तयार हुन अरु धेरै पक्षको आवश्यक परे पनि दर्शकले प्रत्यक्ष महसुस गर्ने भनेको शब्द, संगीत र दृश्य नै हुन्।

दर्शकलाई स्वतन्त्र रुपमा छोडिदिनु पर्ने हो। तर, यहाँ त गीतको नाममा अश्लिलता मात्रै होइन लाखौ खर्चेर गीतको म्युजिक भिडियोलाई बुष्ट हान्ने काम भइरहेका छन्। जो गैरकानूनी र अधर्मी छन्। असली कलाकारहरुको धर्म यो होइन। कलाकारको काम गीत निमार्ण गरेर बजारमा पठाई दिने हो। मन परे हेर्छन् /सुन्छन्। मन नपरे हेर्दैनन्। यहाँ त ल यस्तो आयो भन्या छ, उस्तो आयो भन्या छ।

साथै राम्रा गीतहरुलाई छायाँमा पार्ने कोसिस हुँदैछन्। दर्शकहरुलाई खाए खा नत्र घिच भन्ने स्थितिमा पुर्याइदैछ। यस्ता गैरकानूनी कार्यहरुलाई बन्द गरिनुपर्छ। यस वर्ष चर्चामा रहेका गीतहरुको हालत ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं छ। लोकगीतलाई ‘ब्याटल’ नाम दिनेदेखि सपरिवार बसेर हेर्न नसकिने दृश्यहरु समेटेर म्युजिक भिडियो बनाउनेका भइरहेका छन्। यस वर्ष चर्चामा आएका केही गीतहरु र कलाकारहरु यस प्रकार छन् :-

१. एकनारायाण भण्डारी

नेपाली गीत संगीत क्षेत्रका हस्ति, लोक गीतका सर्जक, अनुसासित गीतका प्रायःको परिचय बनाएका सर्जक हुन् भण्डारी। तर, यस वर्ष उनको शब्द संगीतको रहेको ‘फरिया लरिलै बरिलै’ बोलको गीत भने विवादमा तानियो। सर्जक भण्डारीले सिर्जना गरेको उक्त गीतका शब्दले सभ्यता र संस्कृति बोलेका छन्। तर, गीतको म्युजिक भिडियो फरक भयो। यो कुरा उनले स्वीकार गरिसकेका छन्। अर्को कुरा एक गिलास विष पिउदा विष, थोरै पिउदा फरक बस्तु हुन सक्दैन।

तथापी गलत स्वीकारे पनि यो गीत उनले आफ्नै युट्युव च्यानलमा अफलोड गरेका छन्। इमान्दापूर्वक गल्ती भएको महसुस गरेका थिए भने गीत हटाएर तीजको मौलिकतालाई सम्मान गर्न सक्थे। जस्तै रामजी खाँडले साउन १६ गते मात्रै आफ्नो गीतका दृश्यहरु जायज नभएको भन्दै स्वसेन्सरसिप लगाए।

यो समाचार तयार पार्दाको समयसम्म उक्त गीत ४२ लाख पटक हेरिसकिएको छ। उक्त गीत तीज आउनु करिब दुई महिना पहिले बजारमा पठाएका थिए। गीतमा गिटारलगायतका आधुनिक बाजाहरु समावेश गरिएका छन्। त्यसपछि भने तीजको नाममा अन्य धेरै कलाकारहरुले भण्डारीको प्रतिष्पर्धा गरेझैं देखिन्छ।

२. दुर्गेश थापा

नेपाली गीत संगीतलाई समयको माग र दर्शकको हवालादिदै सधै चर्चामा रहने गायक हुन् दुर्गेश थापा। उनीमाथि गीतको भाका-शब्द चोर्नेदेखि गीतको मौलिकता बिगार्नेसम्मका आरोप लाग्ने गरेका छन्।

२०७६ कार्तिक ५ गते देउसी भैलोको मौलिकता बिगारेको अभियोगमा पक्राउसमेत परेका गायका थापाले यसपाली तीजको मौलिकतामाथि पनि प्रहार गरेका छन्। उनले ‘बिच्च बीच्चमा २’ र ‘बिच्च बिच्चमा ३’ नामक शीर्षकका गीतहरुलाई उनले सर्जक भण्डारीकै शैलीमा नेपाली तीजगीतको हवाला दिएका छन्। भलै न भण्डारीको गीत नेपाली तीजगीत भन्न लायक छ, न त थापाको। शब्दमा व्यग्यत्मक सन्देश भएपनि कुनै गाइजात्राभन्दा कम नलाग्ने थापाका गीतहरुमा पुरुषहरुले गुन्युचोली लगाएको देखिन्छ।

३. सोफिया थापा

तीजको मौलिकतामाथि प्रहार हुनेगरी गीत निमार्ण गर्नेमा केवल पुरुष मात्रै छैनन्। महिला कलाकारहरु पनि छन्। यसै मध्येकी एक हुन् गायिका सोफिया थापा।

उनले यो वर्ष तीजगीतको नाममा बजारमा पठाएको ‘अबको तीज, नो व्रत पिलिज’ शीर्षकको गीत निक्कै विवादपछि युट्युवबाट हटेको थियो। गायिका थापाको शब्द,संगीत र स्वरहेको गीत हिन्दु जागरण नेपालको दवाफपछि गायिका थापाले हाइलाइट्स नेपालको युट्युवबाट गीत हटाएपनि अन्य युट्युव प्रयोग कर्ताहरुले अपलोड गरेका छन्।

विवादपछि हटाएका गीतहरु पुन: अपलोड हुने कार्यलाई बन्द गर्ने अर्को कानूनी अवरोध नभएसम्म हटाएको अर्थ नरहने पक्का छ। धर्म परिर्वतन सम्बन्धिको महाजागरणका रुपमा सञ्चालित हिन्दु जागरण नेपालले उक्त गीतलाई तीजको मौलिकतामाथिको प्रहार भनेको थियो।गीतको सन्देश प्रगतिशील भए पनि अंग्रेजी शब्दहरु समावेश भएको र दृश्यहरु तीजको मौलिकताभन्दा बाहिर रहेको भने पक्का हो।

४. ज्योती मगर

नेपाली कलाक्षेत्रमा निक्कै चर्चामा रहने नाम हो ज्योती मगर। यसपालि उनले देशको भ्रष्टाचार, बेथिति, विसंगति-विकृतिलाई प्रहार गर्ने शब्दसन्देश रहेको गीत बजारमा ल्याएकी छन्।

गायिका मगरको तीजगीत ‘मुत्नेगरी हान’ बोलको गीत यतिखेर चर्चामा छ। अन्य तवरले गीत राम्रो र सन्देश मुलक भएपनि शीर्षक चयन ठिक नभएका कारण उक्त गीतको आलोचना भइरहेका छन्। गीतमा तिलक वलीको शब्द संगीत रहेको छ। यस गीतको शीर्षक छनोटमा सस्तो लोकप्रियता र भाइरल बन्ने चाहत झल्किन्छ। अन्य क्याचि शब्द समेटेर गीत बजारमा पठाउने अवस्था हुँदा हुँदैपनि फरक अभिप्रायले उक्त गीतको र्शीर्षक समूह वा परिवारसँग बसेर पढ्न लायक छैन।

गायिका मगरको स्वरमा ‘राची पठाईदे र गिलास ठोक्काउने’ बोलका गीतमा पनि उभर्दो पन देखिन्छ। राची पठाइदे बोलको गीतमा रोशन सिंहको लय शब्द छ। गिलास ठोक्याउने बोलको गीत प्रिती आले र प्रेम सापकोटा सानुको स्वर रहेको छ। शमिर प्रकाश पाण्डेले लेखेका हुन्् भने सापकोटाको संगीत रहेको छ।

५. कमल बिसी ‘माल्दाई’

चन्द्रदेव खड्काको शब्द तथा कमल बिसी ‘माल्दाई’ को संगीत रहेको ‘बोको’ शीर्षकको गीत चर्चामा छ। त्यतिमात्रै होइन यो समाचार तयार पार्दाको समयसम्म नेपालको युट्युव ट्रेन्डिङ नम्बर चारमा पुगेको छ। तीज ब्याटल नाम दिइएको उक्तगीतले दिन खोजेको सन्देश ठिक भएपनि असलियतमा प्रश्न जन्माउछ।

दृश्य र ब्याटल तीजगीतको मर्म र भावना विपरित छन्। महिला र पुरुषका बीच गिटार बजाए र कट्टु लाएका सन्दर्भहरुलाई गीतमा प्रस्तुत गर्न खोजिएका छन्।

माथि उल्लेखित प्राय गीतहरु बुस्ट गरिएका छन्। जबरजस्त दर्शक माझ पुर्याउने प्रयास गरिएको छ। जागर नेपालका प्रधान सम्पादक तथा फोटो पत्रकार मुकुन्द कालिकोटेको फेसबुक बालमा अचानक यहि गीत देख्दा उनले भने, ‘कस्ता शीर्षक र गीत आउन थालेका ? नियन्त्रण र नियमन आवश्यक भईसक्यो।’

उनले अगाडि थपे, ‘कलाकारहरुका राम्रा नराम्रा क्रियाकलापहरु बजारमा जाने माध्यम भनेको मिडिया हुन्। मिडियाको नाममा खुलेका दोकानहरु बन्द हुन आवश्यक छ। कलाकारहरुको मात्रै दोष छैन्। गल्तिलाई प्रमोट गर्ने पत्रकार नामका पात्रहरुको पनि दोष छ।’

यता नेपाली गीत संगीतमाथिको प्रहारलाई रोक्न र कानूनी उपचार खोज्ने अभिप्रायले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपााले संस्थाका उपमहासचिव शिव हमालको नेतृत्वमा ‘विकृति-विसंगति न्यूनिकरण कार्यदल’ गठन गरेको छ।

यस कार्यदलले लोक संस्कृतिमाथि प्रश्न उठाउने गीत, संगीतका सर्जक, श्रष्टा र माध्यमको बारेमा निडरताका साथ समाजलाई जानकारी दिने र सामाजिक रुपमा त्यस्ता गलत क्रियाकलापहरु वहिष्कार गर्न अनुरोध गरेको खण्डमा पनि केही संकृति जोगिने काममा केही राहत पुग्ने देखिन्छ।