धूपधुवाँर गर्दै मनाइयो नाग पञ्चमी (फोटो फिचर)


काठमाडौँ। आज नाग पञ्चमी पर्व मनाइँदैछ। हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ।

नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ।

काठमाडौँ उपत्यकामा भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल सुन्धारा छेउको मीननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, चोभारपारि टौदह, नक्साल नागपोखरी र चाँगुनारायण नगरपालिका वडा नं– ८, कलमसीस्थित कल्पेश्वर नागमा विशेष रूपमा पूजाअर्चना गर्ने प्रचलन छ।

शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महत्त्व रहेको वर्णन गरिएको छ।

तस्बिर: मुकुन्द कालिकोटे