‘नक्साको विषयलाई लिएर व्यक्तिलाई देवत्वकरण नगरौं’



काठमाडाै। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ नक्साको विषयलाई लिएर कसैलाई देवत्वकरण र कसैलाई राक्षसीकरण नगर्न आग्रह गरेका छन्।

साथै उनले नेकपा अहिले बहस पदको नभएर विचारको भएको समेत दाबी गरेका छन्।

शुक्रबार राजधानीमा आयोजित पुष्पाल र नरबहादुर कर्माचार्यको स्मृति दिवसमा बोल्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन्।

स्मृतिसभामा बोल्दै अध्यक्ष प्रचण्डले कूम्यनिष्ट आन्दोलन टुट र फुटको संघर्षबाट यहासम्म आएको बताए।

उनले भने, ‘नीति र नेतृत्वबीच तादात्म्यता भएपछि मात्रै जनताले पत्याउछन्। कम्युनिष्ट आन्दोलन तेस्रो महाधिवेशनपछि छिन्नभिन्न भएको ईतिहासलाई स्मरण गर्नुपर्छ। त्यसपछि पछिल्लो पुस्ताले नेपाली कम्युनिष्ट आन्दोलन अघि बढ्यो। २०७४ पहिले विशेषगरी दुई धारमा विभाजित भएको कम्युनिष्ट पार्टीबीच एकता भएको हो। यसलाई सहज र सरल रुपमा नलिन आग्रह गर्दछु।’

उनले अगाडि भने, ‘महाधिवेशनमा नपुगेरै पुनः विभाजित त हुँदैन ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो। नेपाललाई विकास गर्छौ। भ्रष्टाचार र कुसंस्कारको अन्त्य गर्छौं, भनेर मत मागेको होइन ? आजका दिनसम्म आउँदा हामीेले के गरिरहेका छौं? जनताले हेरिरहेका छन्। समाचार सुन्दा के पो आउने हो ? भन्ने चिन्ता गर्नु पर्ने अवस्था छ। यो किन भयो ? किन यति छिटो यति मतभिन्नता किन ? भन्ने प्रश्न नै यक्ष प्रश्न हो। ६/६ महिनामा केन्द्रीय कमिटीको बैठक बस्ने नीति र विधि छ। तर, दुई वर्षसम्म पनि केन्द्रीय कमिटीको बैठक बस्न सकेन। कम्युनिष्ट पार्टी भनेको सामुहिकतामा विश्वास राख्ने पार्टी हो।’

प्रधनमन्त्री तथा अध्यक्ष केपी ओलीतर्फ इंगित गर्दै प्रचण्डले सत्ता ठूलो कि पार्टी ? भन्दै प्रश्न गरेका छन्।

उनले भनेका छन्, ‘सत्ताले पार्टीमाथि आक्रमण गरेको हो कि ? व्यक्तिको नेतृत्वमा पार्टी र सरकार अधिनस्थ भएको हो कि ? भन्ने कताकता प्रश्न उठिरहेका छन्। भ्रष्टाचार निर्मुल गर्ने कुरामा हामी कति सफल भयौं ? नीतिको बारेमा छलफल भयो ? बैठक बसेको गरिमा कायम राख्यौं ? पार्टीले सामूहिक निर्णय गरेको निर्णय सापेक्षमा सहि हुन्छ। नयाँ नक्साका बेलाको निर्णय देश र जनताले कति रुचाए? त्यो त सबैलाई जानकारी छ नि।’

प्रचण्डले नेकपाका कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीलाई नक्साको विषयलाई लिएर देवत्वकरण नगर्न अनुरोध गरेका छन्। उनले भारतले नेपाली भूमि समावेश गरेर नक्सा जारी गरेलगत्तै आफूले सरकारलाई नेपालका तर्फबाट नयाँ नक्सा जारी गर्न सुझाव दिएको दाबी गरेका छन्।

उनले भने, ‘भारतले नेपालको भूमि समावेश गरेर नक्सा छापेपछि कार्यकारी अध्यक्षको हैसियतमा स्थायी कमिटीको (मंसिर २९ गतेबाट सुरु) पुसमा सम्पन्न बैठकले सरकारलाई सामूहिक रुपमा तत्काल नयाँ नक्सा जारी गर्न निर्देशन दिएको थियो। त्यति मात्रै होइन, माघमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पनि त्यहि सुझाव दिएको थियो। तर, सरकारले निक्कै ढिला गर्यो। अरुभन्दा त नीति तथा कार्यक्रमबाट छुटाएको विषय नीति तथा कार्यक्रम पास हुने दिनको बिहान छापाखानामै पुगेको बेला नयाँ नक्साको विषय थपिएको हो।’

उनले अगाडि भने, ‘पार्टीको निर्णयका आधारमा सरकार चलाउदा कति राम्रो हुँदो रहेछ। सामूहिक विवेकको अभिव्यक्ति हुन्छ। पार्टीको सामूहिक रुपमा गरेको निर्णयलाई राष्ट्रले गर्व गर्ने कुरा एउटा व्यक्तिको गोजिमा हाल्नु खोज्न वैज्ञानिक होईन। न्यायपूर्ण काम होइन। यति महिना ढिला किन गरियो ? यसो गरौं भन्नेलाई राष्ट्रघाती घोषित गर्ने र धन्यवादको पात्रलाई देवत्वकरण गर्ने ? अहिले पार्टी संकटमा छ। अहिले ठिक ठाक छ भने पनि कसैले विश्वास गर्ने ठाउँमा छैन। स्थायी कमिटीको बैठक जारी रहँदा अध्यक्ष केपी ओलीको निर्देशनमा निर्वाचन आयोगमा एमाले दर्ता भयो।’

पार्टीको आन्तरिक विवादलाई लिएर सडकमा जिन्दावाद र मुर्दावादका नारा लगाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका प्रचण्डले कार्यकर्तालाई पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘२१औं जनवाद र जबज भन्न थालियो भने पार्टी एकताको पक्षमा उभिएको मानिदैन। जबजलाई निशेष गरेका छैनौं। मदन भण्डारीको विचारलाई उच्च मूल्याङकन गरेका छौं। जबज र २१औं शताब्धिको जनवाद भन्न थालियो भने हामी फेरी टुक्रिन खोज्दैछौं भन्ने सन्देश जान्छ। जुलुस ननिकालौं। नारा नलगाउ भनिराखेका छौं। हामी पूँजीवाद कि समाजवाद तिर ? हामी व्यक्तिगत र पदको लागि हो कि भन्ने परेको छ। यसलाई सच्याउनु पर्नेछ। हाम्रो बहस विधिको हो। नीतिको हो। विचारको बहस हो। पार्टीलाई एकतावद्ध राखिने छ। विधि र सामूहिक रुपमा, विधि र विचार स्पष्ट भएर आउने छ। यो वहसबाट अझ पार्टी खारिएर आउनेछ।’