सुर्खेत। निर्माण सम्पन्न भएको एक वर्षपछि वीरेन्द्रनगरको सिटी बसपार्क सञ्चालनमा आउने भएको छ। नगरपालिका र व्यवसायीबीचको विवाद मिलेपछि बसपार्क सञ्चालमा आउन लागेको हो।
आगामी भदौ एक गतेदेखि बसपार्क सञ्चालन गर्ने तयारी थालिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए।
‘व्यवसायी र नगरपालिकाबीच केही विवाद हुँदा उहाँहरुले उच्च अदालतलमा मुद्दा हाल्नु भएको थियो। फैसला भइसकेको छ,’ उनले भने, ‘अब भदौ १ गतेदेखि सञ्चालन हुन्छ।’
बसपार्क सञ्चालनका लागि गत मंसिर १६ गते नगरपालिकाले टेण्डर आह्वान गरेको थियो। बसपार्कमा पहिलेदेखि नै व्यवसाय गर्दै आएका ५४ जना व्यवसायीले उच्च अदालतमा गत पुस १३ गते आफूहरूलाई प्राथमिकता नदिएर पूर्वसहमति विपरीत टेण्डर गरिएको भन्दै रिट दायर गरेका थिए।
नगरपालिका र व्यवसायीबीच पुरानो बसपार्कमा व्यापार गरिरहेकालाई बसपार्क निर्माणपछि व्यापार–व्यवसाय गर्न दिने सहमति भएको थियो। तर, सहमति कार्यान्वयन नभएपछि उनीहरूले अदालतमा रिट दायर गरेका हुन्।
अनलाइनखबरका अनुसार उक्त रिटमाथि गत फागुन अन्तिमतिर उच्च अदालतले सुनाइ गर्दै प्रतिस्पर्धा गराउने तर पुराना व्यवसायीलाई प्राथमिकता दिनु भनी सुनुवइ गरेपछि विवाद सुुल्झिएको हो। यो सुनुवाइसँगै बसपार्क सञ्चालन गर्न बाटो खुलेको हो।
बसपार्क सञ्चालन गर्ने ठेक्का पीआर कन्स्ट्रक्सनले पाएको छ। अब उक्त कन्स्ट्रक्सनसँग सम्झौता गरी बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मा दिने तयारी गरिएको नगरपालिकाले जनाएको छ। उक्त कम्पनीले बसपार्क सञ्चालन गरे वापत मासिक २७ लाख ५६ हजार एक सय रूपैयाँ नगरपालिकालाई बुझाउनुुपर्ने छ।
बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउन्टर, शौचालय, पाकिङस्थल निर्माण गरिएको छ। बसपार्क सात करोड ४४ लाख लागतमा निर्माण भएको हो।