आर्मीले नियन्त्रणमा लिएर कुटपिट गरेका युवकको मृत्यु



चितवन। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट एक युवकको मृत्यु भएको छ। चितवनको राप्ती नगरपालिका-२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो।

उनको बिहीबार विहान भरतपुर अस्पतालमा ल्याउँदा नै मृत्यु भैसकेको थियो। मृत्युको कारण सेनाको कुटपिट नै भएको परिवारको दाबी छ। राजकुमारका बुवा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका हुन्।

सेनाले कुटेर घर आएपछि राजकुमार बिरामी भएको र मृत्युका कारण सेनाको कुटाइ नै भएको उनको भनाइ छ। राजकुमार बिरामी भएपछि गाउँकै मेडिकलबाट औषधि किनेर ल्याएर खुवाएको तर बचाउन नसकिएको बुवा विष्णुलालले बताए।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाबारे जानकारी आएको बताए। यसबारे निकुञ्ज प्रशासनसँग बुझ्दा कुटपिटबाट मृत्यु भएको कुरा गलत भएको जानकारी आफूलाई गराएको प्रजिअ भट्टराईले बताए।

चेपाङ युवकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ। उनको अहिलेसम्म पोष्टमार्टम गरिएको छैन। घटना विवादित बन्न सक्ने देखिएकाले आवश्यक सल्लाह र निर्णयपछि मात्रै पोष्टमार्टम गरिने अस्पतालसम्वद्ध स्रोतले जनाएको छ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले प्रहरीले घटनाको मुचुल्का उठाएर पोष्टमार्टम गर्नु नभनेकाले अहिलेसम्म शवको पोष्टमार्टम नगरिएको बताए।

घोँगी र न्यूरो टिप्न जाँदा कुटिएका थिए राजकुमार

अनलाइनखबरका अनुसार राजकुमार ब्ल्क फ्याक्ट्रीमा काम गर्थे। उनीसहित ७ जना गत साउन १ गते उद्योग बन्द भएकाले निकुञ्ज क्षेत्रमा न्यूरो र राप्ती नदी वरपर घोँगी खोज्न भन्दै गएका थिए। उनीहरुको समूहमा दुई जना महिलासमेत थिए।

सेनाले निकुञ्ज क्षेत्रमा अबैध रुपमा कोही प्रवेश गरिरहेको देखेपछि उनीहरुलाई बोलाएर कुटपिट गरेको र सोही दिन छाडेको राजकुमारका साथी सन्तलाल प्रजाले बताए। सेनाले महिलालाई केही नगरे पनि पुरुषहरूलाई कुट्ने, गालीगलौज गर्ने, मुढा ओसार्न लगाउने जस्ता काम गराएको पीडितहरुले बताएका छन्।

निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको बटुक दल गणका प्रमुख अरुण श्रेष्ठले भने निकुञ्जभित्रको ज्युँडी खोलामा घोँगी बटुल्दै गर्दा सेनाले नियन्त्रणमा लिए पनि कुटपिट भने नगरेको दाबी गरे।

‘हाम्रो काम कोही निकुञ्जमा अवैध रुपमा पसेमा तत्काल नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनमा बुझाउने हो,’ गणका प्रमुख अरुण श्रेष्ठले भने, ‘महिनामा सेनाले चार–पाँच सय मान्छे समाउँछ के ती सबैलाई कुटेको छ त ? छुटेको यतिका दिनपछि यस्तो आरोप लगाउनु सरासर गलत र निराधार छ।’