काठमाडौँ। नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण स्थगित राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा आयोजना गर्ने निर्णय गरेको छ।
गत वैशाखका लागि तय गरिएको सो भेला रोकिएको र २६ औँ महाधिवेशनको मिति तय गर्न समेत कठिनाइ उत्पन्न भएकाले ती गतिविधिका बारेमा निर्णय लिन भेलाको नयाँ मिति तय गरिएको महासङ्घले जनाएको छ।
महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय समितिको दसौँ पूर्ण बैठकले साङ्गठनिक विषय, श्रमजीवी पत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा र कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरलगायतका विविध विषयमा छलफल गरेको थियो ।
महासचिव रमेश विष्टका अनुसार बैठकले बन्दाबन्दीका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको नयाँ सदस्यता सिफारिस र नवीकरणको म्याद २०७७ साउन मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ।
यस्तै कोरोना माहामारीको कारण देखाउँदै सञ्चारगृहले श्रमजीवी पत्रकारलाई दवावपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा महासङ्घले श्रमजीवी पत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्त र परिणाममुखी बनाउने निर्णय गरिएको छ ।
निरन्तर पाँच वर्ष एउटै सञ्चारमाध्यममा कार्यरत स्ट्रिन्गरलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चारगृहलाई पत्राचार गर्ने र तहगत वर्गीकरण गरी पारिश्रमिक तोक्ने भनी दुई वर्षअघि भएको निर्णय कार्यान्वयनका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।
कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरका सम्बन्धमा अध्ययन गरी दस्तावेज तयार पार्ने र त्यसका लागि महासङ्घको मिसन सबै प्रदेशमा परिचालित हुने महासङ्घले स्थापना गरेको एक करोड रुपैयाँ बराबरको आपतकालिन कोषमा महासङ्घ केन्द्रकातर्फबाट रु। तीस लाख र महासङ्घ बेलायत शाखाबाट रु बीस लाख जम्मा भइसकेकाले यस कोषमा स्वच्छिक योगदान गर्न चाहने महासङ्घका शाखा र सरोकारवालालाई साउन मसान्तभित्र सो कोषमा रकम जम्मा गर्न आह्वान गर्ने निर्णय पनि गरिएको छ ।
महासङ्घले लोककल्याणकारी विज्ञापन वापत बढाइएको रकम उपलब्ध गराउन, अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणलाई सरलीकृत गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण लगायतका आवश्यक राहत उपलब्ध गराउन र प्रेस पास वितरणलाई सरलीकृत गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।
गत भदौ ९ गतेदेखि बेपत्ता रहेका सामुदायिक रेडियो बुढीनन्दामा कार्यरत डोटीका पत्रकार तेजु खड्काको हालै कंकाल भेटिएकाले गहन छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल सरकारसँग बैठकले माग गरेको छ ।