वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु



काठमाडौँ। पर्साको वीरगञ्ज–६ माईस्थानका ७० वर्षीय श्याम नारायण वर्णवालको कोरोनाबाट मृत्यु भएको छ। वर्णवालको मृत्युसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो। सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ।

मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो। उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए।

मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको उनको भनाइ छ। वीरगञ्जको स्थिति एकदमै कठिन बन्दै गएकाले लकडाउनका लागि सिफारिस गरिएको उनले जानकारी दिए। एडभान्स अस्पतालमा मात्रै ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।