कम्युनिष्ट आन्दोलन र पुष्पलालको योगदान



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम भने तय भएको छैन।

पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरे। पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो।

आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागेका उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे। पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन्। पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता हुन्।

उनले नेकपा स्थापना गर्दा घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो।

यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो। पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो। पार्टी स्थापना गर्दा कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए।

उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन्। उनको विचार र दर्शनका आधारमा नेकपाले आर्थिक समृद्धिको नारासहित दुईतिहाई जनमत प्राप्त सरकारको नेतृत्व गरिरहेको छ। २०७५ जेठ ३ गते भने नेकपा ‘एमाले’ र नेकपा ‘माओवादी केन्द्र’ मिली पुनः अहिले त्यही नेकपा पार्टी बनेको छ।

देश र जनताप्रति समर्पण राख्ने, सिद्धान्तनिष्ठ अनुशासित र संघर्षमा रमाउने पुष्पलालबाट कोरिएको नेकपाको मार्गचित्रबाट नयाँ नेपाल निर्माण हुने विश्वास लिइएको छ। सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ। यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ।

पुष्पलालका योगदानहरू

वैचारिक योगदान

पुष्पलालको नेपाली राजनीतिमा मुख्य योगदान नै नयाँ विचारको सूत्रपात हो। स्थापनाको ठाउँ खोजेर छटपटाउँदै गरेको समाजवादी विचारधारालाई नेपालमा उनले औपचारिक रूपमा स्थापित गरे। लेनिनको अध्ययन, अध्ययन र फेरि अध्ययनबाट उनी अभिप्रेरित थिए। वैचारिक पक्षका उनका योगदानहरूलाई बुँदागत रूपमा यसरी हेर्न सकिन्छः

– २००६ वैशाख १२ गते पहिलो पर्चा प्रकाशन। यसमा भनिएको छः ‘नेपाली जनताको वास्तविक मुक्तिका निम्ति केवल राणा शासनको अन्त्यबाट मात्र सम्भव छैन। यस निम्ति आंल–अमेरिकी साम्रज्यवादको आडभरोसामा टिकेको सिङ्गो सामन्ती व्यवस्थामाथि नै प्रहार गर्नुपर्छ।’ यो तत्कालमा राणा शासनको अन्त्य गर्दा पुग्दैन भन्ने सन्देश त्यतीबेलै उनले दिएका थिए।

– २००५ चैत्र २३ ९५ अप्रिल १९४९० मा कम्युनिस्ट घोषणा–पत्रको नेपाली अनुवाद प्रकाशन गरे। यो नै बाम विचारको पहिलो नेपाली भाषामा छापिएको पुस्तक हो। यो घोषणापत्रको अनुवाद साम्यवादी, भौतिकवादी दर्शनमा राम्रो दखल नभई सम्भव थिएन। त्यसैले त्यति बेलै उनले दर्शनको गहिरो अध्ययन गरेको पुष्टि हुन्छ।

– २००८ सालमा कलकत्तामै पार्टीको प्रथम सम्मेलन भयो। त्यसमा ‘जनवादका निम्ति नेपाली जनताको बाटो’ शीर्षक कार्यपत्रमा पुष्पलालले प्रस्तुत गरेको विचार आज प्रमाणित भएको छ। यसबाट उनी दूरदृष्टि भएको नेता थिए भन्ने पुष्टि हुन्छ ।

– रिमको गठन गर्ने बेलामा फ्रान्सेली नेताहरू उनलाई भेट्न बनारस आए। त्यहाँ लौराबिरको एउटा चिनियाँ रेस्टुरेन्टमा छलफल भयो। त्यो बेला राजा र नेपाली काङ्ग्रेसलाई समान दुस्मन मान्नुपर्छ भन्ने सल्लाह आउँदा उनले ठाडै अस्वीकार गरे। उनी प्रजातन्त्रवादी र वामपन्थीको संयुक्त मोर्चा बनाई आक्रमण गर्दा राजशाहीलाई परास्त गरेर देशमा गणतन्त्र ल्याउन सकिन्छ भन्ने पक्षमा अडिग थिए, जो पछि सत्य सावित भएरै छाड्यो।

साङ्गठनिक योगदान

– विसं १९९८ मा सूर्यबहादुर भारध्वजको सक्रियतामा नेपाल प्रजातन्त्र सङ्घको स्थापना भयो। जसमा पुष्पलाल पनि सकृयताका साथ संलग्न थिए।

– विसं १९९९ मा भारत दार्जिलिङतिरबाट आएका ज्ञवाली धरणीधरहरूको सकृयतामा ‘अखिल नेपाल वर्गसभा’ स्थापना भयो। जसमा उनी पनि संलग्न थिए। यसले नै पहिला गणतन्त्र नेपाल जिन्दावाद भनेर गणतन्त्रको आह्वान ग‍र्‍यो साथै रुसका बोल्सेभिक र बेलायतका क्रमबेलको समर्थन गर्‍यो।

– विसं १० वैशाख २००६ ९२२ अप्रिल १९४९० मा कलकत्ताको श्याम बजारस्थित नवीन सरकार लेन घर नं। ३८ मा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठसमेत भएर नेपाल कम्युनिस्ट पार्टीको गठन गरे। यो नै क. पुष्पलालको साङ्गठनिक क्षेत्रको सर्वोच्च योगदान हो। यस ऐतिहासिक कार्यमा भाकपाका नृपेन्द्र चक्रवर्तीको सहयोग रहेको थियो।

– पार्टी स्थापनाको सन्दर्भमा भने क. पुष्पलालले नै केही स्थानमा ६ असोज २००६ ९१५ सेप्टेम्बर १९४९० दिएकोले २०१६ सालसम्म यसै मितिमा स्थापना दिवस मनाइन्थ्यो। त्यसपछि मात्र लेनिनको जन्म दिन अर्थात २२ अप्रिल १९४९ ९१० वैशाख २००६० मै स्थापना भएको एकिन भयो र त्यसै दिनलाई पार्टी स्थापना दिन मानियो। माथिको पहिलो तर्कमा के गल्ती छ भने १५ सेप्टेम्बर १९४९ असोज ६ नभएर २००६ साल भदौ ३० गते पर्छ। त्यसले पनि खोजविन गरेर सही पत्ता लगाउन अनिवार्य भयो।

बनारसको दशपुत्र गल्लीस्थित गोकुलनाथ नायकको घर नं २९र३० मा १७ वर्ष रहेर पार्टी हेडक्वाटर त्यहीँबाट चलाएका पुष्पलालले नेपाली बाम राजनीतिलाई स्थापना र दरिलो बलियो बनाए। यद्यपि उनलाई २०१६ सालमा मोहनविक्रम सिंहबाट पुस्तिका प्रकाशन गरेरै गद्दार घोषित गर्ने कार्य भयो। कुरा नमिल्ने बित्तिकै खेदो गर्ने नेपाली कम्युनिस्ट परम्परा यस घटनामा पनि खुबै उचालियो। तर कालान्तरमा न त पुष्पलाल नै गद्दार हुनुभयो न त त्यो घोषणाकर्ता नै नेपाली कम्युनिस्ट आन्दोलनको मियो बने। त्यसैले यो प्रयास त्यसै सेलाएर गयो, असफल सावित भयो।

तर पनि विचार दिएर, सङ्गठन दिएर नेपाली समाजको वस्तुगत वर्ग विश्लेषण गरेर ०२५ को नेकपाको तेस्रो सम्मेलनमा नेपाली क्रान्तिको विस्तृत विचार जस्तो दूरगामी विचार दिएर पनि पार्टीमा दरिलो पकड राख्न नसक्नु पुष्पलालको साङ्गठनिक सीमा रह्यो।