काठमाडौँ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुलेका छन्।
कोरोना महामारीको सम्भावित जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो। सरकारले साउन ६ गतेदेखि लकडाउन अन्त्य गरेसँगै शिक्षक/कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएको छ। साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।
क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो। शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो।
यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो। गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेरसँगै ७ गतेदेखि क्याम्पस सुचारु हुने त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले बताए।
सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सन्चालन गर्ने निर्णयसमेत गरेको छ। सोहीअनुसार त्रिविले भदौ पहिलो साताबाटै परीक्षाहरु लिन सुरु गर्ने तयारी थालेको छ।