कोशी ब्यारेका ४६ ढोका खोलिए, सप्तरी र सुनसरी जाेखिममा



काठमाडौँ। सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेपछि ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ। यो वर्षकै उच्च मापन हो। कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ।

ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ। पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो। जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ।

त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ। स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ।