काठमाडौँ। नेपाली कम्युनिष्ट आन्दोलनका एक इमान्दार सिपाइको परिचय बनाएका नेता हुन् पूर्वमन्त्री लोकेन्द्र विष्ट मगर।
२०७४ सालदेखि राजनीतिक यात्राबाट पूर्णरुपमा बिराम लिएका विष्ट यतिबेला ‘ड्रागन फ्रुट’ खेतीमा व्यस्त छन्। राजनीतिकलाई व्यापार र पेसाका रुपमाभन्दा समाज सेवाका रुपमा लिनुपर्ने विचार बोकेका नेता विष्टंले राजनीतिबाट बिराम लिदा धेरैका लागि आश्चार्यको विषय बनेको थियो।
विष्टले राजनीतिबाट बिराम लिएपछि दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरेका थिए। उनले तीन बिघाभन्दा धेरै जग्गा भाडामा लिएर ‘ड्रागन फ्रुट’ खेती सुुरु गरेका थिए। अहिले ‘ड्रागन फ्रुट’ दोस्रो चरणमा खान मिल्न बनिसकेको जानकारी दिएका छन्। फेशबुक मार्फत आफ्ना जानकारीहरु दिदै आएका विष्टले देशका ठूला शहरमा ‘ड्रागन फ्रुट’ निर्यातका लागि, ब्यापारका लागि सम्पर्क गर्न अनुरोध गरेका छन्।
एक पटक चीन भम्रण गएका बेला ‘ड्रागन फ्रुट’ खाने अवसर पाएका विष्टले त्यसबारे अनुसन्धान गरेपछि खेती सुरु गरेको बताउछन्। बिजौरीमा रहेको उक्त जग्गा १५ वर्षका लागि भाडामा लिएका हुन्। एक बिरुवाले एक सिजनमा ४० किलोसम्म फल दिन्छ। पूर्वमन्त्री विष्टले अहिले ड्रागन फ्रुट रातो प्रतिकेजि ८०० रुपैयाँ र सेता प्रतिकेजि ७ सयका दरले विक्रि गरिहेका छन्।
केही दिन अगाडि सामाजिक सञ्जाल फेशबुकमा पूर्वा माओवादी कमाण्डर प्रचण्ड र बाबुरामले आफूमाथि गरेको खिसिटिउरीको स्मरण गरेका थिए। पूर्वमन्त्री विष्ट झलनाथ खनालको मन्त्रिपरिषदमा १५ दिन स्वास्थ्यमन्त्री र बाबुराम भट्टराईको सरकारमा छ महिना पर्यटनमन्त्री बनेका थिए।
तस्बिर सौजन्य: लोकेन्द्र विष्ट मगर