‘मान्छे मात्रै हो, मान्छेको जात’



file photo

शीर्षकमा भनिए जस्तै यस पृथ्वीमा जन्मिएका असंख्य जीवनहरु मध्येको एक प्राणी हो मान्छे। यत्तिकैमा मानिसको परिचय कहाँ रोकिन्छ र ? यतिका जीवहरु मध्येको सबैभन्दा सचेत र उत्कृष्ट प्राणी पनि मान्छे हो। यस स्तम्भको ‘शीर्षक’ एउटा गीत पनि हो। गत जेठ १० गते रुकुमको सोतीमा भएको युवा नरसंहारको भोलिपल्ट अर्थात जेठ ११ गते उक्त गीत रचिएको थियो। भलै आजका दिनसम्म यो गीत संगीतवद्ध हुन बाँकी छ।

एक चोटी उक्त गीतको पूरा अंश हेरौं

मान्छे मात्रै हो मान्छेको जात।
मान्छेले मान्छेलाई नगरौं भेदभाव।

सबैले बदल्नुपर्छ सोच अनि विचार।
सबैभन्दा ठूलो कुरा मान्छेको व्यवहार।

छोड्नुपर्छ रुढीवादी परम्परा थिती।
विश्वलाई नै लज्जित पार्ने कुप्रथा कुरिती।

विचार राम्रो भएपछि व्यवहार राम्रो हुन्छ।
व्यवहार राम्रो भएपछि कसको मन रुन्छ ?

जात धर्मभन्दा पहिले असल मान्छे बनौं।
विभेदको जात हुन्न सबैले यही भनौं।

गीतका बारेमा थप ब्याख्या आवश्यक परेन। खासमा यो गीत यस स्तम्भमा किन राखेको हो ? त्यो कारण भने मैले भन्नैपर्छ। बाँकी लेखमा कारण भेटाउने प्रयास गरिनेछ। समाजको बनावट परम्परा, रितिथिति र मूल्य मान्यतामा आधारित हुन्छ। आजको समाज र हिजोको समाजबीच केही भिन्नता र केही फरक पना हुन्छ नै। यो सृष्टिको नियम पनि हो।

यहाँ नेर हामीले भूल्न नहुने कुरा भनेको हिजोलाई आजको आँखाले र आजलाई हिजोको चस्माले हेर्नु हुँदैन। गत असार २५ गते सतीप्रथा अन्त्य भएको एक सय वर्ष पुगेको छ। उक्त कुप्रथामात्रै थिएन, त्यो त मानवअपराध र कुरता थियो। यसै प्रथालाई आजको आँखाले हेरेर ब्याख्यागर्दा अव्यवहारिक र अवैज्ञानिक लाग्छ। जंगबहादुर राणाले अन्त्य गर्न खोजेको सतीप्रथा, चन्दशमशेरहुँदै वीर शमशेरको पालामा आएर उक्त प्रथाको अन्त्य भएको थियो।

जातीय विभेद अन्त्यका उपाय

केही दलित अधिकारकर्मीहरुले भनेको सुनिन्छ, ‘जातीय विभेद कहिल्यै अन्त्य नहुने गरी स्थापित बन्यो।’ म यो कुरामा सहमत छैन। माथि सतीप्रथाको प्रसंग उल्लेख गर्नुको कारण नै यहि हो कि हाम्रो मुलुकबाट मानवहित विपरितका कुनै पनि कुराहरुको अन्त्य सम्भव छ। हिजोदेखि आजसम्म कुनै पनि कुराहरुले निरन्तरता पाउँदैन।

कार्ल मार्क्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवादका नियमलाई स्मरण गर्ने हो भने, मकैको एउटा दाना माटोको उष्णतामा परेको खण्डमा बोट जन्मिन्छ। केही दिन अगाडि अस्तित्वमा रहेको मकैको दाना नास हुन्छ। बोट हुर्किदै जान्छ र बोटोको निश्चित आयू हुन्छ। त्यसपछि बोट पनि मर्छ। यसरी नै विश्व द्वन्द्वात्मक अवस्थाबाट अगाडि बढ्दै आएको छ। त्यसैले इतिहासलाई आधुनिक चस्माले हेर्नु हुँदैन भन्न खोजिएको हो।

विभदको जन्म कुनै जात वा धर्मका कारण हुँदैन। यो विशुद्ध मानवीय चेतनाको उपज हो। मानवीय व्यवहार हो। यसलाई बदल्न किन नसक्ने ? यसको अन्त्य किन असम्भव मान्ने ? आजका मानिसहरुले अंगाल्नु पर्ने र त्याग्नुपर्ने कुराहरु के-के हुन् ? गर्नुपर्ने कामहरु के हुन् ? पूरा गर्नुपर्ने कर्तव्यहरु के हुन् ? परिवर्तन कसले हुन बाँकी छ ? कहाँ राज्यको ध्यान पुगेको छैन? लगानी कता कम भयो ? रुपान्तरणलाई स्थापित गर्न कहाँ चुक्यौं ? यि यावत प्रश्नहरुको जवाफ खोज्नुपर्छ। अनि हरेक विभेदको मसान घाट भेटिन्छ। अर्थात विभेदको अन्त्यष्टिका लागि स्वयं हामी मलामी हुन पाउछौं।

दलितको नाममा, पीडितको नाममा, महिलाको नाममा, पीछडिएको क्षेत्रको नाममा, कम्जोरको नाममा, राजनीति गर्ने र डलरको खेती गर्ने हो भने माथि उल्लेखित प्रश्नहरुको जवाफ नखोज्ने हो भने पक्कै विभेद बाँकी रहन्छ। स्वार्थी, कपटी र पक्षपातीहरुको हातमा शासन सत्ता रहेसम्म यो विभेद कायम रहन्छ। यहाँ जातीय विभेदको मात्रै कुरा छैन। भौगोलिक विभेद, साँस्कृतिक विभेद, राजनीतिक विभेद, आर्थिक विभेद, लैङगिक विभेद झन् मौलाउदैछन्। एउटा अधिकाकर्मीले पीडितको नाममा राजनीति गर्छ, शहरमा घर ठड्याउछ। अर्कोले कम्जोर वर्ग, क्षेत्र र समूदायको नाममा राजनीति गर्छ, प्रधानमन्त्री, मन्त्री, सांसद, नेता बन्छ।

उनीहरुकै सिको गर्दै अरुहरु पनि त्यहिबाटो अगाल्छन्। अनि भन्छन्, ‘विभेद कहिले हुन्छ?’ यसरी त समय र जीवनको मात्रै अन्त्य हुन्छ। विभेदको अन्त्य हुँदैन। अर्को कुरा राज्यमा को मानिसहरु छन् ? उनीहरुबाट हिजो र आज मुलुकले के फरक पना हासिल गर्यो ? यो बुझ्न जरुरी छ। र भन्न जरुरी छ कि, ‘कि रुपान्तरण चाहियो, होइन भने जेहाद छेड्न तयार भइसक्यौं।’ आजको दिनमा यो भन्न सम्भव छ। तर, हामी भनिरहेका छौं, हामीलाई न्याय चाहियो, हामीमाथि विभेद भयो। हामीलाई आरक्षण दे। हाम्रो अधिकार सुनिश्चित गर। यस्ता भिखमंगा नारा र पाराले विभेदको अन्त्य हुन्छ ? हुँदैन।

सबैभन्दा पहिले वेद होस्, या रामायण या अर्को कुनै ग्रन्थ। हर मानिसलाई ती कृतिहरुका पात्र र प्रवृत्तिका बारेमा बुझाउन सक्नुपर्छ। यो हिजोको कुरा हो। हिजो नै सकियो। त्यसको असर आज किन पिउने ? यो प्रश्न गर्न सक्नुपर्छ। अर्को कुरा जम्मै मानिसलाई एकचोटी छातिमा हात राखेर भन्न लगाउकी हाम्रो जात मान्छे बाहेक अर्को कुनै छ ? मान्छेको जात मान्छे मात्रै हो भन्ने सन्देश सञ्चार गरौं। मान्छे हो कि होईन ? मानविय गुण छ कि छैन भनेर सोधौं।

भनिन्छ, कलोम्बिया र अक्सफोर्ड विश्वविद्यालयले प्रयोगमा ल्याएको दलित शब्द कुनै जाती विशेष थिएन र होइन पनि। ‘दलित’ शब्द पीडित वर्ग भन्ने बुझाउछ। तर, भारतीय संविधानका पितासमेत मानिने डा. भीमराव अम्बेडकरले यस शब्दलाई ब्यापक प्रयोगमा ल्याएको र मुक्ति आन्दोलनका रुपमा विकास गरेको मानिन्छ। नेपालमा दलित शब्द जात, विभेद, हिँसा, अत्याचार मात्रै होइन, मागि खाने भाडोसमेत बनेको छ। पछिल्लो समय त दलित शब्द चेतनाको रुपमा विकसित हुँदैछ। बालकहरुको चेतनामा छुत र अछुत जस्ता विभेदकारी शब्दहरु घुस्दैछन्। वर्तमान पुस्ताले यसको श्रेय लिनुपर्छ। यो हाम्रो कमजोरी हो।

जातीय विभेदलाई राज्यले जघन्य अपराधको सूचिमा राखेको छ। यसको समुल अन्त्यका लागि केही समय लाग्ने देखिन्छ। पहिलेको भन्दा अहिले निक्कै कम हुँदै गएको जातीय विभेदलाई उचालेर चर्चा कमाउने, डलरको खेती गर्ने र महंगा रेष्टुरामा जिउनार गर्नेहरुदेखि जोगिएर सम्बन्धित वर्ग समूदायले प्रभावकारी भूमिकाको खोजि गर्नुपर्छ। त्यहि रुकुमको नवराज विकसहित ६ जना युवाको नरसंहार भएको घटनालाई जातीय र राजनीतिक रुपले बढि रंग्याउने काम भयो भन्दा उल्टै गालि खाइयो। तर, यहाँनेर हामीले सत्य कुरालाई नजरअन्दाज गर्यौं। त्यो घटना जातीयभन्दा पहिले अमानवीय थियो।

हामीलाई जातीय भन्न हतार भयो। तर, अमानविय र दानवीय भन्न पटक्कै रुची भएन। किन कि हामी मान्छे बन्ने सकेका छैनौं भन्ने प्रमाण पुष्टि गर्नु थियोक। यहाँ कोही महिला सामूहिक बलात्कारको सिकार हुन्छन्। हामीले भन्छौं, दलित महिला बलात्कृत भइन। कुनै युवा कुटिएको हुन्छ, हामी भन्छौं दलित युवा कुटिए। तर, हामीले भन्नुपर्ने कुरा त युवामाथि कुटपिट भयो। महिलामाथि सामूहिक बलात्कार भयो भन्नु पर्ने हो। अपराध, विभेद, अत्याचार, हिँसाको कुनै जात र धर्म हुँदैन। यो अमानवियता पराकाष्टा हो। कुनै पनि कुराको मूल्यलाई क्षिण बनाउन सक्नुपर्छ। ठेस लाग्दा बाटो बदल्ने र बाटोलाई गालि गर्नुभन्दा पहिले आफू सतर्क भएर हिड्नु पर्छ कि?

अनत्यमा, सुर्खेती गायक धनराज चुनाराले सामाजिक सञ्जाल फेशबुकमा लेख्नु भएको याद छ, ‘जातीय विभेदभन्दा आर्थिक विभेद निक्कै शक्तिशाली छ।’ यसमा थप के भन्न सकिन्छ भने, आर्थिक मात्रै होइन, सामाजिक, राजनीतिक, भौगोलिक र साँस्कृतिक, मानसिक विभेद झन् खतरा छ। राजनीतिक विश्लेषणका आधारमा भन्ने हो भने समाजवादसम्मको यात्रामा उल्लेखित सबै विभेद अन्त्य भइसक्ने देखिन्छन्। तर, दुईवटा विभेद बाँकी रहने देखिन्छन्। आर्थिक र लैङ्गिक विभेद। हुँदा खाने र हुनेखानेबीचको विभेद र महिला र पुरुषबीचको विभेद कालान्तरसम्म रहने देखिन्छ। तर, असम्भव भन्ने केही छैन। हामीले अरुको अस्तित्व स्वीकार गर्न सकौं।

अरुलाई सम्मान गर्न सकौं। हामी आफूलाई मान्छे ठान्छौं भने अरुलाई पनि मान्छे देखौं। आफूलाई ठूलो जातको ठान्छौं भने अरुलाई पनि ठूलो जातको सम्झौं। सियोको आवश्यकता परेको बेला खुकुरीको के काम ? कमिलाको आवश्यकतामा हात्तिको के काम ? संसारमा अस्तित्वमा रहेका हरेक चिजको मूूल्य आवश्यकता र औचित्यका आधारमा उत्तिकै मूल्यवान हुन्छ। गैर दलितहरुले मान्छेको जात मान्छे मात्रै हो, विभेदको कुनै जात हुँदैन।

आम मानिसहरु यस्ता गैर जिम्मेवार र अमानवियताको विरुद्धमा एक हुनुपर्छ, जातीयभन्दा मानविय पक्षलाई प्राथमिकता दिनुपर्छ भन्दा ‘दयारथी’ को उपमा दिनेहरु पनि छन्। नक्कली नारा र पाराको आधारमा बनाएको सामाजिक विरासत, नाम र दामको अनुहार चिन्ने त हामीले नै होला नि ? सबैलाई एउटै घानमा हाल्नु लेखक विश्लेषकहरुको धर्म होइन। हामी आम मानिस हौं, बाचुञ्जेलको जीवन सार्थक, सफल र असल बनाउन तिर लागौं। यसैमा सबैको भलो हुनेछ।