अझैं पाँच दिनसम्म निरन्तर वर्षा, सतर्क रहन आग्रह



काठमाडौँ। निरन्तरको वर्षा र झरीले देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार गएराति प्रदेश २, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका अधिकाशं जिल्लाहरुमा अत्याधिक वर्षा मापन भएको छ। त्यस्तै मौसमविदका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्मै वर्षाको सम्भावना छ।

मौसमविदहरुले मध्यमदेखि भारी वर्षाको सम्भावना अझै रहेकाले पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।

मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।