विकासको नाममा विनासलाई रोकौं: सांसद नेपाली



हेटौँडा। वागमती प्रदेश सांसद एवं नेपाली कांग्रेसकी नेता कल्पना नेपालीले विकासको नाममा विनास नित्याएको भन्दै सरकारलाई पर्यावरणीय स्थितिलाई ध्यान दिन अनुरोध गरेकी छन्।

आइतबार प्रदेशको राजधानी हेटौँडामा जारी वर्खे अधिवेशनको विशेष समयमा बोल्दै सांसद नेपालीले यस्तो सुझाव दिएकी हुन्। प्रदेशको भौगोलिक विशिष्टता, पहिचान र पर्यावरणीय स्थितिलाई हेरेर मात्रै विकासका कार्यहरु अगाडि बढाउनु पर्नेमा सांसद नेपालीकाे जोड छ।

सांसदहरुले काम देखाउने होडबाजि चलाएर विकासको नाममा विनास निम्त्याएको टिप्पणी गरेकी छन्। उनले भनिन्, ‘वागमती प्रदेशको भौगोलिक अवस्थिति हिमाल, पहाड र भित्रि मधेश पर्ने भएका कारण यस कुरालाई नजरअन्दाज गरेर विकास सम्भव छैन। समय हुँदै वागमती प्रदेशका जनताहरुको जिउधनको सु्रक्षाका लागि सरकासँग जोडदार माग गर्दछु।’

संघीय राजधानी र प्रदेश राजधानीको नजिक भएपनि नुवाकोट विकासमा पछि परेको सांसद नेपालीको दाबी छ। उनले भनेकी छन्, ‘संघीय राजधानी र प्रदेश राजधानीको नजिकै भएपनि विकासका हिसाबले निक्कैपछि छ। जलविद्युत आयोजनादेखि धार्मीक तथा साँस्कृतिक सम्पदाहरु भरीपूर्ण रुपमा रहेको नुवाकोटलाई जोड्ने सडकको अवस्था निक्कै नाजुक छ। सरकारले प्रयाप्त ध्यान दिन सक्नुपर्छ। प्रदेशभरीमा नुवाकोट र रसुवा विकासका दृष्टिले पछि परेका छन्। समावेशी ढंगले योजना वितरण नगरिदा यि जिल्लाको विकास भएको छैन्।’

सांसद नेपालीले नुवाकोट जिल्लालाई शहरको फोहोर मैला जम्मा गर्ने डम्पिङसाइडका रुपमा हेरिएको भन्दै स्थानीय जनता र सरोकारवालाहरु जुरमुराउनु पर्ने बताएकी छन्।

उनले अगाडि भनेकी छन्, ‘नुवाकोट विकासका दृष्टिले मात्रै होइन, शहरको फोहोर जम्मा गर्ने डम्पिङसाइटको रुपमा चिनिदैछ। विभिन्न समयमा हामीले फोहोर ब्यवस्थापनलाई ध्यान दिनको लागि सरकारलाई आग्रह गरे पनि हाम्रो आवाज सुन्ने काम भएको छैन। उचित रुपमा फोहोर व्यवस्थापन नहुँदा स्थानीयहरुको अकालमा ज्यान जानेको गरेको छ। यस्तो गम्भीर विषयमा प्रदेश सरकारले उचित कदम चाल्नुपर्छ।’