ओली अघिअघि, प्रचण्ड पछिपछि शितलनिवास प्रवेश



काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास प्रवेश गरेका छन्।

फोटो पत्रकार मुकुन्द कालिकोटेका अनुसार अध्यक्ष एवं प्रधानमन्त्री ओली शीतलनिवास गएको १५ मिनेटपछि अर्का अध्यक्ष प्रचण्ड पनि शीतलनिवासतर्फ लागेका हुन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म बसेको नेकपाको सचिवलाय बैठकले खास निष्कर्ष दिन सकेन।

ओली निकटका मन्त्री र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको बालुवाटार प्रवेशपछि सरकारी नियुक्ति, राजदुत नियुक्ति र मुख्यमन्त्रीसम्म परिवर्तन गर्नेसम्मको निर्णय हुन सक्ने विश्लेषण भएका छन्।

नेकपामा सत्ता संघर्षको विवाद चरम विन्दुमा छ। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले दुबै पदबाट राजीनामा दिन दबाब दिरहेको छ।

प्रधानमन्त्री ओली भने आफू दुबै पदबाट राजीनामा नदिने अडान राख्दै अएका छन्। उक्त विषयमा नेकपाभित्र देखिएको विवादले असार १० गतेबाट जारी स्थायी समिति बैठक १८ गतेयत बस्न सकेको छैन।