व्यवहारिक रुपमा उच्चस्तरको आचरण देखाउनुस्: सेनापति थापा



काठमाडौँ। प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठन सुधारका लागि आचारसंहिताको व्यवहारिक रुपमा पूर्णपालना गर्न सैनिक अधिकारीहरुलाई निर्देशन दिएका छन्।

भद्रकालीमा बिहीबारबाट सुरु भएको दोस्रो सैनिक आचारसंहिता सप्ताह, २०७७ लाई सम्बोधन गर्दै उनले संगठन सुधारका लागि प्रतिबद्ध रहन सबै अधिकृत तथा सकलदर्जालाई निर्देशन दिएका हुन्।

थापाले भनेका छन्, ‘संगठन सुधारका लागि कार्यरत सबै सकलदर्जामा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिक रुपमा उच्चस्तरको हुनुपर्छ।’ साथै, संहिता सैनिक अधिकारीका लागि वहालमा रहँदा मात्र नभइ अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको थापाको भनाइ छ।

थापाले पेशेवर र व्यवसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सैनिक संगठन भएको बताउँदै सैनिक आचारसंहिता पालनामा हरेक व्यक्तिले सदैव विशेष जोड दिनुपर्ने बताए।

सप्ताहमा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट, आर्थिक कारोबार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतिकरण र छलफल हुने सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।

उनका अनुसार यस किसिमका कार्यक्रममा सैनिक आचरण, नैतिकता तथा मूल्य मान्यता थप मजबुत भइ विशिष्ट सैनिक चरित्र निर्माण हुने विश्वास राखिएको छ।