तस्बिरः नवराज न्यौपाने
कालिकोट। जिल्लाको पलाँता गाउँपालिकामा पटक–पटक भएको पार्टी र स्थानीय सरकारबिचको झडपका कारण रेडियोमा कार्यरत ७ जना कर्मचारीहरुको जागिर गएको छ।
नेकपा पलाँता र पलाँता सरकारबीच झगडा मेलमिलाप गर्न दुई पक्षीय सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार करारमा कार्यरत अन्य कर्मचारीसहित सामुदायिक रेडियो पलाँता आवाजमा कार्यरत कर्मचारीहरुको जागिर श्रावण १ गतेबाट गएको हो।
दुई पक्षीय सम्झौता अनुसार पार्टी र स्थानीय सरकारबीच भएको कागजका अनुसार सम्पूर्ण करारमा रहेका कर्मचारीहरु हटाएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए।
उनले पटक–पटक पार्टी र स्थानीय सरकारबीच भएको दोहोरो झडप, मनमुटाव र पार्टीमा आस्थावान केही व्यक्तिहरुले आफूले गरेका कामकाजलाई मन नपारएर ‘अध्यक्ष बमले मनोमानी ढंगबाट स्थानीय सरकार चलाएकाले करारमा रहेका सवै कर्मचारीहरु हटाउनु पर्ने’ भनेपछी यही श्रावण १ गतेबाट पालिकामा रहेका सबै करार कर्मचारी हटाएको बताए।
नागरिकको माझमा सही सूचना सम्प्रेषण गर्ने सामुदायिक रेडियोका कर्मचारीको समेत जागिर जाँदा पलाँता आवाज रेडियो बन्द भएको छ। पार्टी र स्थानिय सरकारको दु्ई पक्षिय मेलमिलाप गर्दा बुदा नं ५ र ६ मा सम्पूर्ण करारमा रहेका कर्मचारी हटाई पुनः नयाँ कर्मचारीका लागि आह्वान गर्ने भनि लेखिएकाले करारमा रहेका सवै कर्मचारी हटाएको अध्यक्ष बमले बताए।
नेकपा पलाँता अध्यक्ष इन्द्र बहादुर रोकायालाई यस विषयमा सोध्दा कर्मचारी हटाउने विषयमा कुनै पनि किसिमको लिखित, मौखिक सम्झौता नभएको बताए। यता पलाँता अध्यक्ष बमले भने बुदाँ नं ५ र ६ मा रहि कर्मचारी हटाएको बताए। यद्यपि कर्मचारी नहटाउँदा भोलिका दिनमा पुनः स्थानिय सरकारमाथि प्रश्न आउने भएकाले करार कर्मचारीहरुको रोजिरोटी खोसिएको बताए।
बुधबारदेखि सामुदायिक रेडियो पलाँता आवाज अश्चितकालिन रुपमा ठप्प भएको छ। पलाँता आवामा कार्यरत कर्मचारी स्टशेन म्यानेजर सुमन बम, कार्यक्रम संयोजक तिलक बुढा, समाचार प्रमुख सजिप्ता बम, प्राविधिक नमराज न्यौपाने, संवाददादा धनबहादुर सार्की, सरला बम, निर्मला बम सबैको जागिर गएको छ।
गाउँपालिकाले करारमा राखेका कर्मचारीहरु रेडियोबाट बाहिर नागरिकहरुले सूचना पाउन समेत मुस्किल भएको छ। रेडियो बन्द भएपछि जिल्ला स्थित ५ वटा सामुदायिक रेडियोहरुका कर्मचारीहरुले खेद प्रकट गरेका छन्।
नेकपा पलाँता सरकारले पालिका सरकारले आवश्यकता भन्दा बढि कर्मचारी राखेको आरोप लगाएको छ। सामुदायिक रेडियो पलाँता आवाज अव के हुन्छ भन्ने प्रश्नमा अध्यक्ष बमले पलाँता सञ्चार केन्द्रलाई जिम्मा दिने बताए।