काठमाडौँँ। नोभेल कोरोना भाइरसका १६७ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६७ संक्रमित थपिएका हुन्।
आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल्लो दिन शनिबार ७० जनामा कोरोना भाइरस देखिएको थियो। त्यसैगरी सोमबार १४४ जना र मंगलबार र बुधबार फेरि घटेर ११६ जनामा कोरोना भाइरसको संक्रमित देखिएको थियो।
कुल कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ। ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन्। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।
पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन्। पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म देशभरबाट ११ हजार २४९ जनाको उपचारपछि डिस्चार्ज भएका छन्।
हालसम्म देशभरबाट ६४ दशमलव ८५ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामार्फत ४ हजार ९८१ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा दुई लाख हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
काठमाडौंमा तीन हजारको परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको छ। हालसम्म देशभरका २३ हजार ५०० क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ५६ जना कोरोना संक्रमित आइसोलेसनमा छन्। देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३९ जनाको मृत्यु भइसकेको छ।