आचार संहिता विपरीत नहिड्न देउवालाई पौडेल समूहको चेतावनी



काठमाडौँ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा विभिन्न विभागमा सदस्य थप गर्ने काम भइरहेकाले त्यसलाई रोक्न माग गर्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

पार्टी कार्यालय सानेपामा मुख्यसचिव र निर्वाचन समितिमार्फत सभापतिको लिखित ध्यानाकर्षण गराएका छन्। थप गरिएका विभागमा सदस्य थप गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन्।

‘नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन सम्पन्न भै चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुन महिनामा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भन्दै थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा लागिसकेको छ।

पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका दोहोर्याएर समेत सार्वजनिक भइ महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको छ,” नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले लिखित सुझाव दिँदै भनेका छन्।

अहिले पनि निर्वाचनको सर्वमान्य मान्यता एवम् आचारसंहिताको विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशयसमेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन निर्वाचन समितिको ध्यानाकर्षण गराइएको लिखित पत्रमा उल्लेख छ।