यि हन् स्वीस बैंकमा ओलीको खाता रहेकोबारे लेख्ने पत्रकार



काठमाडौै। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा खाता छ भनी विवादास्पद रिपोर्ट तयार गरेको र त्यसलाई केही नेपाली मिडियाले साथ दिएको भनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले खेद व्यक्त गरेका छन्। उनले प्रेस नोटमार्फत् यसलाई भ्रामक र खेदजनक भनेका छन्।

ग्लोबल वाच एनालिसिसमार्फत् यस्तो रिपोर्ट सार्वजनिक भएको हो जुन निकै विवादमा परेको छ। यो रिपोर्ट तयार गर्ने व्यक्ति रोल्यान्ड ज्याकार्ड हुन्। लेबनानमा जन्मिएका उनी फ्रान्सेली पत्रकार हुन्। उनले अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी खोजमुलक लेख रचना प्रकाशित गर्दै आएका छन्। फ्रान्सेली भाषामा कलम चलाउने ज्याकार्डका पुस्तक सँसारका धेरै भाषामा उल्था गरी प्रकाशित छन्।

ज्याकार्डले ओसामा विन लादेनसम्बन्धी पुस्तक लेखेका थिए। जुन निकै चर्चामा रह्यो। बिन लादेनले पश्चिमालाई ध्वस्त पार्न खोजेकोबारे पनि लेखे। सन् १९९८ देखि २००४ को बीचमा उनका सातवटा पुस्तक प्रकाशनमा आएको छ।

उनका कतिपय लेख र रिपोर्टहरु विवादमा आइरहन्छन्। त्यसको विश्वसनीयतामाथि प्रश्न उठाउने गरिएको छ। उनले कुनैबेला फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको गुप्त सल्लाहकार भएको दाबी समेत गरेका थिए। ज्याक सिराकसँग उनी निकै परिचित थिए। दुवैबीच भेटका तस्बिरहरुसमेत सार्वजनिक छन्।

ज्याकार्ड कतिपय दक्षिणपन्थी धारका प्रकाशनका सम्पादक पनि भए। लामो समय विभिन्न मिडियामा काम गरेका ज्याकार्ड खुफिया एजेन्सीहरुमा राम्रो स्रोत रहेका पत्रकारका रुपमा परिचय बनाएका छन्।

विशेषगरी आतंकवाद र यसको गहिरो अध्ययन गरेका उनले त्यससम्बन्धमा कलम चलाउँछन्। सुरक्षा र रणनीतिहरुबारे रिपोर्टहरु बनाउँदा उनी निकै विवादमा पर्ने गरेका छन्। उनको रिपोर्टहरुको विश्वसनीयताबारे प्रश्नहरु उठिरहन्छ।

एजेन्सीको सहयोगमा