काठमाडौँ। सञ्चार आदान प्रदानका लागि विश्वका ठूला एपहरुमध्येको एक राकुटेन भाइबरले नेपालमा आफ्ना प्रयोगकर्ताका लागि नयाँ युजर इन्टरफेसको सुरुवात गरेको छ।
नयाँ योजनाअनुसार प्रयोगकर्तालाई एपमार्फत् नेभिगेट गर्न र आफूलाई मनपर्ने व्यक्तिसँग सहज रुपमा कुराकानी गर्न अनुमति प्रदान गर्ने कम्पनीले जनाएको छ।
यो नयाँ युजर इन्टरफेसका साथमा भाइबर प्रयोगकर्ताहरुले अब आफ्ना परिवार, साथीभाइ, र सहपाठीसँग म्यासेजिङ एपलाई नेपाली भाषामा परिवर्तन गरी संलग्न हुन सक्ने भन्दै कम्पनीले यो कार्यलाई एपको ‘सेटिङ्ग’ मा गएर र उनीहरुका पूर्व निर्धारित भाषा चयन गरेर पूरा गर्न सक्ने जनाएको छ।
विश्वव्यापी रुपमा कोभिड–१९ को फैलावटलाई रोक्न र नागरिकको स्वास्थ्य र सुरक्षालाई अझ सुनिश्चित् गर्न विश्वका सबै मुलुकहरुले सामाजिक दूरीको कडाईपूर्वक पालना गरिरहेको सन्दर्भमा भाइबर एपको प्रयोग उल्लेखनीय रुपमा वृद्धि भएर एक रेकर्ड नै कायम भएकोे कम्पनीको दावी छ।
गएको २ सातामा सामूहिक सन्देश १३४ प्रतिशतभन्दा धेरै र सरदर भाइबर प्रयोगकर्ताले प्राप्त गर्ने सामूहिक कलको संख्या ३७० प्रतिशतले बढेको छ भने समुदाय संलग्नताको सरदर संख्या७८ प्रतिशतले वृद्धि भएको छ। यो नयाँ तथा स्थानीयकृत युआइको सुरुवातसँगै भाइबरले नेपाली प्रयोगकर्ताहरुबीच इन–एप क्रियाकलापमा अझ धेरै उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको जनाएको छ।