काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्प्टनले २–२ गोलको बराबरीमा रोकेको छ।
आइतबारराती ओल्ड ट्याफोर्डमा भएको खेल बराबरीमा रोकिएपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ।
पाँचौ स्थानमै रोकिएको म्यान्चेस्टर युनाईटेडको लिगमा ३५ खेलबाट ५९ अंक छ। समान अंक जोडेको लेष्टर सिटी गोल अन्तरको आधारमा चौथो स्थानमा रहँदा तेस्रो स्थानको चेल्सीको ६० अंक छ।
खेलमा साउथह्याम्पटनका स्टुवार्ट आर्मस्ट्रंगले पहिलो गोल गरे। तर, म्यान्चेस्टर युनाईटेडका मार्कस रास्फोर्ड र एन्थोनी मार्टियलले एक एक गोल गर्दै पहिलो हाफमै टोलीलाई २–१ को अग्रतामा पुर्याए।
दोस्रो हाफमा साउथह्याम्पटनका मिचेल ओबाफेमीले एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो। च्याम्पियन लिभरपुलको ९३ अंक छ भने ७३ अंकका साथ म्यान्चेस्टर सिटीले दोस्रो स्थान सुरक्षित गरिसकेको छ।