राजनीतिक दल जुट्नु र फुट्नुका तीन कारण


काठमाडौँ। नेपाली राजनीतिमा पार्टीहरू जुट्ने, फुट्ने र पुनः जोडिने क्रम र उपक्रम जारी छ। हुन त नेपालका राजनीतिक दलहरु टुट्नु, फुट्नु र फेरि जोडिनु नौलो घटना होइन। इतिहास हेर्ने हो भने कम्युनिस्ट, काँग्रेस वा पञ्च पृष्ठभूमिका राजनीतिक पार्टीहरु नै किन नहुन् उनीहरु टुट, फुट र जुटबाट गुज्रँदै आएका छन्।

०५४ एमाले फुटाएर नेकपा माले गठन गरेका बामदेव गौतम त्यसको ४ वर्षपछि ०५८ मा पार्टी एकीकरण गरेर एमालेमा समाहित भए। यस्तै २०५९ सालमा पार्टी विभाजन गरी नेपाली काँग्रेस ‘प्रजातान्त्रिक’को गठन गरेका काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पुन: २०६४ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली काँग्रेससँग पार्टी एकीकरण गरेका थिए । सात दशकको इतिहास बोकेका काँग्रेस–कम्युनिस्ट पार्टी हुन् वा भर्खरै गठन भएका र वैकल्पिक भनिएका साझा, विवेकशील लगायतका पार्टी पनि यो अभ्यासमा अभ्यस्त देखिन्छन् ।

११ साउन २०७४ मा पार्टी एकता भई २७ पुस २०७५ मा पार्टी विभाजन गरेका साझा र विवेकशील बीचको एकताबारे अहिले चर्चा सुरु भएको छ । आइतबार बसेको साझाको केन्द्रीय कमिटीको बैठकले केशव दाहालको नेतृत्वमा पार्टी एकताका लागि कार्यदल गठन गरेको छ भने विवेकशीलले पनि पार्टी महासचिव निर्देश सिलवालको नेतृत्वमा छुट्टै कार्यदल गठन गरेको छ । यी दुई पार्टी संसदीय चुनावअघि एक भएर चुनावमा गए पनि चुनावपछि अलग भएका थिए । एकतापछि बनेको विवेकशील साझा पार्टीलाई भारतमा आम आद्मी पार्टीजस्तै नेपालको वैकल्पिक राजनीतिक शक्तिका रूपमा आउने धेरैको अपेक्षा थियो । तर पार्टी विभाजनपछिको उपनिर्वाचनमा यी दुई पार्टीले लज्जास्पद नतिजा भोग्न बाध्य भए।

एकीकृत माओवादी र नेकपा एमालेको एकीकरणको घोषणा भएलगत्तै चुनावमा होमिँदा पाएको सफता र फेरि अर्को चुनाव नजिकिएसँगै दलहरुमा पार्टी एकताको चटारो देखिन्छ। ०६२–६३ पछि राजनीति दलहरुमा देखिएको विभाजन र मिलन

माओवादी

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी–केन्द्र० नेपालमा ११ वर्षे सशस्त्र युद्ध गरेपछि २०६४ मा भएको संविधान सभाको पहिलो चुनावमा पहिलो पार्टीका रूपमा उदायो । तर सो पार्टीले आफ्नो त्यो आकारलाई जोगाइराख्न भने सकेन । ०६९ असार ४ मा मोहन वैद्य ९किरण०को नेतृत्वमा माओवादी विभाजन भयो ।

पछि वैद्य नेतृत्वको पार्टीलाई नेत्रविक्रम चन्द्र ९विप्लव० समूहले पनि फुटायो । यस्तै रामबहादुर थापा ९बादल० पनि आफ्नो समूह बोकेर अलग्गिए । यता पुष्पकमल दाहाल नेतृत्वका माओवादी पार्टीबाट डा। बाबुराम भट्टराई पनि बाहिरिए । भट्राई ०७२ असोज ९ मा माओवादी केन्द्रबाट अलग्गिए । माओवादीबाट छुट्टिएर उनले नयाँ शक्ति गठन गरे पनि माओवादीबाट आफूसँग आएका अन्य नेताहरु पुनः बाहिरिए ।

माओवादीमा जति फुट भएको छ त्यति नै एकता पनि भएको छ । पछि बेलाबेलामा विभिन्न समूहले प्रचण्ड नेतृत्वको माओवादीमा प्रवेश गरे । शान्ति प्रक्रियामा आएपछि सर्वप्रथम ०६५ सालमा माओवादीले एकता केन्द्रसँग एकता गर्यो । पार्टीको नाम एकीकृत नेकपा माओवादी भयो । त्यस्तै ०७३ जेठ ६ मा भने विभिन्न १० माओवादी घटकबीच एकता भएर नेकपा ९माओवादी केन्द्र० बन्यो । यतिबेला भने विगतमा माओवादीबाट छुट्टिएका धेरै समूह तथा नेताहरु प्रचण्ड नेतृत्वको माओवादीमै जोडिन पुगेका थिए ।

त्यही बेलामा माओवादीमा जोडिन वैद्य नेतृत्वको माओवादीमा रहेका बादलले ०७३ जेठ १ मा एउटा समूह लिएर पार्टी फुटाएका थिए । ०६५ सालदेखि अलग रहेका मातृका यादव पनि मिसिए । ०६२ सालमै अलग्गिएर बेग्लै पार्टी चलाएका मणि थापा पनि यही भेलमा मिसिन आइपुगे । माओवादी छाडेर नयाँ शक्ति गएका धेरै नेता तथा कार्यकर्ताहरु प्रचण्डकै छाहारीमा फर्किए ।

तर वैद्य, विप्लव र बाबुराम भने मूलघरमा फर्किन नपाउँदै २०७५ जेठ ३ गते नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०बीच एकता भइ नेकपा गठन भयो ।

मधेसवादी दल

बहुदल आएलगत्तै २०४७ वैशाखमा मधेसवादी दलका रूपमा सद्भावना पार्टी गठन भएको थियो । सद्भावना पार्टीमा सानातिना समूह चोइटिने र मिल्ने क्रममा रामजनम तिवारी, रामेश्वर राय यादव, हृदयश त्रिपाठी लगायतका नेताको आउने जाने क्रम चल्यो ।

०६२र६३ को लोकतान्त्रिक आन्दोलनपछि भने सद्भावना पार्टी टुक्रिन पुग्यो । ०६४ मा राजेन्द्र महतो लगायतले नयाँ सद्भावना पार्टी स्थापाना गरे । २०६५ मा आनन्दीदेवी सिंह नेतृत्वको सद्भावना फेरि विभाजन भयो । सरिता गिरीको समूहले नयाँ पार्टी गठन गर्यो ।

२०६३ माघ १ मा जारी अन्तरिम संविधानमा सङ्घीयता उल्लेख नभएपछि उपेन्द्र यादव नेतृत्वको समूह आन्दोलन चलायो । त्यही आन्दोलनबाट उदाएका उपेन्द्रले २०६४ वैशाखमा मधेसी जनअधिकार फोरम पार्टी निर्माण गरे । काँग्रेसबाट विजयकुमार गच्छदार, जेपी गुप्ता, शरतसिंह भण्डारी लगायतका नेताहरु सो पार्टी प्रवेश गरे ।

यता २०६४ मङ्सिरमा काँग्रेस नेता महन्थ ठाकुरले, सद्भावनाका नेता हृदयेश त्रिपाठी, एमालेका नेता महेन्द्र राय यादव र राप्रपाका रामचन्द्र राय पार्टी छोडे र २०६४ पुस १३ गते ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा० गठन गरे ।

त्यही क्रममा उपेन्द्र यादवको विभाजनको रेखा कोरिन थाल्यो । २०६४ भदौमा भाग्यनाथ गुप्ताले पार्टी विभाजन गरेर मधेसी जनअधिकार फोरम, मधेस गठन गरे भने अमर यादवले २०६५ चैतमा विभाजन गरेर मधेस तराई फोरम गठन गरे ।

उपेन्द्रको पार्टीमा विभाजनको क्रम रोकिएन । २०६६ जेठमा विजयकुमार गच्छदार नेतृत्वमा मधेसी जनअधिकार फोरम गठन भयो । पछि गच्छदार नेतृत्वको पार्टीमा पनि विभाजन आयो । २०६९ असारमा शरदसिंह भण्डारीको नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन भयो ।

२०६८ जेठमा जेपी गुप्ताले गच्छदारको साथ छोड्दै मधेसी जनअधिकार फोरम ९गणतान्त्रिक० पार्टी गठन गरे । तर गुप्ता भ्रष्टाचार मुद्दामा पक्राउ परे । पार्टीको नेतृत्व राजकिशोर यादवले गरे । तर नन्दनकुमार दत्तले पार्टी विभाजन गरी सोही नामको पार्टी खोले । महामन्त्री महेन्द्रराय यादवले २०६७ पुस १६ मा तमलोपा विभाजन गरेर तमलोपा नेपाल गठन गरे ।

यता राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट बाहिरिएका अनिल झाले २०६८ साउनमा सङ्घीय सद्भावना पार्टी बनाए । यस्तै महतोको पार्टी फेरि विभाजन हुँदा २०६८ माघमा रामनरेश यादवले ‘राष्ट्रिय सद्भावना पार्टी’ गठन गरे । त्यसपछि मधेसवादी दलका फेरि एकताको लहर सुरु भयो । २०७१ फागुन १८ गते अनिल झा र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीसँग एकता भएर नेपाल सद्भावना पार्टी निर्माण भयो ।

२०७४ जेठ २६ गते सरिता गिरी उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरममा प्रवेश भइन् । यता रामनरेशको राष्ट्रिय सद्भावना पार्टी र महेन्द्र राय यादवको तमलोपा नेपालबीच २०७० भदौमा एकता भई महेन्द्र राय यादवको तराई मधेस सद्भावना नेपाल बन्यो ।

२०७४ वैशाखमा महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम ९गणतान्त्रिक० र शरतसिंह भण्डारीको राष्ट्रिय समाजवादी पार्टी एकता भएर राष्ट्रिय जनता पार्टी बनेको थियो ।

उता विजय गच्छदारले २०७३ चैत २३ मा शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र यशोदाकुमारी लामा नेतृत्वको दलित जनजाति पार्टीसँग एकता गरेर नेपाल लोकतान्त्रिक फोरम बनाएका थिए । गच्छदारले ०७४ असोजमा आफू नेतृत्वको पार्टी नेपाली काँग्रेसमै विलय गराए ।

यता उपेन्द्र यादवले अशोक राई नेतृत्वको सङ्घीय समाजवादीसँग एकता गरेर सङ्घीय समाजवादी फोरम पार्टी गठन गरे ।त्यसपछि ०७६ वैशाखमा समाजवादी फोरम र डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी बन्यो । यस्तै समाजवादी र राजपाबीच पनि ०७७ वैशाख १० गते एकता भई जनता समाजवादी पार्टी बनिसकेको छ ।

राप्रपा

कमल थापाको नेतृत्वमा २०६२ सालमा राप्रपा नेपाल पार्टी जन्मियो । पछि २०६९ मा राष्ट्रिय जनशक्ति पार्टी र पशुपति शमशेर जबरा अध्यक्ष रहेको राप्रपाबीच एकता भयो र राप्रपाका विभिन्न समूहबीच २०७३ फागुन ६ गते एकीकृत पार्टीको एकता महाधिवेशन भएको थियो।

एकता महाधिवेशनको केही महिनामै फेरि राप्रपामा पुनः फुटको सुरुवात भयो । २०७३ चैत १६ गते प्रकाशचन्द्र लोहोनीको नेतृत्वमा राप्रपा राष्ट्रवादी स्थापना भयो

यस्तै २०७४ साउन २२ गते कमल थापासँग असन्तुष्टि राख्दै पशुपतिशमशेर राणाद्वारा राप्रपा ९प्रजातान्त्रिक० गठन गरेका थिए ।पछि २०७५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० बीच पार्टी एकता भयो ।

यतिबेला राप्रपाका तीन समूह एकठाउँमा छन् । गत फागुन १८ गते कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा ९संयुक्त०बीच पार्टी एकीकरण भएको थियो ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नेपालका जुनसुकै राजनीतिक पार्टीहरु फुट्नु र जुट्नुमा सत्ता स्वार्थसँग जोडिएको बताउँछन् । ‘पार्टीहरु फुट्ने र एक हुने तीनवटा कारण छन् । पहिलो सत्ता स्वार्थ, दोस्रो सिद्धान्त तथा विचार मिल्नु र तेस्रो सङ्कट मोचन । नमिल्दा अस्तित्व नै स्वाहा हुने अवस्था आयो त्यो जोगाउन पार्टीहरु मिल्छन् ।’

विभिन्न समयमा मिलेका र अहिले मिल्न खोजेका पार्टीहरुका पछाडि विशेषतः सत्ता स्वार्थ नै मुख्य कारण रहेको श्रेष्ठको बुझाइ छ । उनले भने, ‘नेकपामा पनि सत्ता स्वार्थ र अस्तित्व जोगाउनकै लागि लफडा भइरहेको छ । संसदीय राजनीतिमा पार्टी फुट्ने जुट्ने कुरा प्रकृतिक प्रक्रिया हो । अहिले नेकपालाई हेर्न सकिन्छ । नेकपा फुट्ने प्रक्रियामा छ । नेकपा अध्यक्षले नै बैठकमा सहमति मान्दिनँ भनेपछि लगभग पार्टी फुट्योभन्दा हुन्छ ।’

तर नेकपाको एकतालाई भने श्रेष्ठ अप्राकतिक भन्छन् । ‘नेकपाको एकता अप्राकृतिक थियो । त्यहाँ न सिद्धान्तको मेल थियो, न विचारको मेल थियो, मेल थियो त सत्ता स्वार्थको मात्र । त्यही कारण नै उनीहरु फुट्न लागेका छन् । तर पार्टी एकताको सुपरग्लु भनेको सत्ता स्वार्थ अस्तित्वको सङ्कट बनेको छ,’ श्रेष्ठको भनाइ छ ।

नेपालको बाम राजनीतिलाई नजिकबाट नियाल्दै आएका श्रेष्ठका अनुसार तत्कालीन एमाले र माओवादी एकले अर्कोलाई सिध्याउने नीति थिए ।

‘माओवादीका कति मान्छे एमालेको सुराकी र एमालेका कति मान्छे माओवादीको आक्रमणले मरेका थिए । मार्ने मर्ने हदसम्म आएका पार्टीबीच एकता भयो । त्यसैले सिद्धान्त त मिल्दैन । विचार नि मिल्दैन । एउटाले २१औँ शाताब्दीको जनवाद भन्छ, अर्कोले बुहदलीय जनवाद भन्छ । सशस्त्र सङ्घर्षलाई एउटाले गौरवमय भन्छ अर्कोले निन्दनीय भन्छ । उनीहरुलाई मिलाउने ‘ग्लु’ सत्ता स्वार्थ हो,’ उनले दोहोर्याए । अन्य साना दललाई पनि राष्ट्रिय पार्टीको मान्यता पाउने स्वार्थले एकतासम्म पुर्याउने गरेको श्रेष्ठको बुझाइ छ ।

‘आम चुनाव आउन अडाई वर्ष बाँकी छ । त्यसमा थ्रेस होल्डको कुरा छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा एक सिट र तीन प्रतिशत मत प्राप्त गर्ने दले मात्र राष्ट्रिय पार्टीको मान्यता पाउँछ,’ उनले भने, ‘तीन प्रतिशत भन्दा थोरै मात्र कम मत प्राप्त गर्ने दलले समानुपातिक सिट प्राप्त गर्न पाउँदैनन् । तीन प्रतिशतको थ्रेसहोल्ड टेकाउने दलले एकभन्दा बढी नै सिट प्राप्त गर्छ । त्यसैले यतिबेला पार्टी जुट्ने क्रम ज्यादा भएको छ । मधेसी पार्टी जुट्नुको कारण पनि त्यही हो ।’

श्रेष्ठका अनुसार साझा र विवेकशीलले पनि एकता गर्न लाग्नुको कारण पनि त्यही हो । राष्ट्रिय पार्टीको मान्यता बनाउनका लागि यिनीहरु मिल्नुको विकल्प छैन ।

‘विवेकशील र साझा पार्टीको कार्यक्रम फरक छैन । हिजो पोलिटिक्सभन्दा बाह्य कारणले फुट्यो, राजनीतिक, सैद्धान्तिक र वैचारिक कारणले पार्टी फुटेको होइन,’ श्रेष्ठको विश्लेषण छ ।

साभारः रोतोपाटी