प्रधानमन्त्रीले राम नेपालका हुन् भनेपछि भारतमा रुवाबासी


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेेपालको हुन भनेेपछि भारतमा हल्लिखल्ली मच्चिएको छ।

सोमबार प्रधानमन्त्री ओलीले भारतले भन्दै आएको अयोध्या गलत भएको तर्क गर्दै वास्तविक अयोध्या नेपालमा भएको बताएका थिए।

अयोध्या नै नेपालमा भएको भन्दै राम पनि भारतीय नभएको बताएका छन्। उनले अयोध्या वीरगञ्जको पश्चिमतर्फको ठोरीमा भएको र राम पनि त्यहींको भएको बताएका हुन्।

आज २०७ औं भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा भानुभक्तको बीर्खे टोपी लगाएका उनले भने, ‘अयोध्या भनेको वीरगञ्जभन्दा पश्चिमपट्टीको गाउँ हो। वास्तवमा अहिले खडा गरिएको अयोध्या होइन।’ दशरथले पुत्रीष्टी यज्ञ रिडीको पण्डित भएको उल्लेख गर्दै राम पनि अयोध्याको नभएको बताए।

भारतले भन्दै आएको अयोध्याबाट त्यहाँका राजा जनकपुरसम्म कसरी विवाह गर्न आइपुगे भनी प्रश्न गरे। भारतले अहिले भनेको अयोध्याबाट राम जनकपुरसम्म आउन सम्भव थिएन भनी तर्क गरे।

मोबाइललगायत सञ्चार सुविधा नभएको बखत कसरी भारतले भनेको अयोध्याबाट जनकपुरसम्म सम्पर्क भयो भनी प्रश्न गरे। अयोध्या वीरगञ्ज नजिकै भएकाले सीताको विवाह अयोध्याका राजकुमार रामसँग हुनु अनौठो नभएको तर्क गरे।

प्रधानमन्त्री ओलीले भारतले सांस्कृतिक तथ्यहरुमा अतिक्रमण गरेको बताए। सांस्कृतिक हिसाबले नेपाल थिचिएको उनको भनाई थियो।

अयोध्या भारतको उत्तर प्रदेशमा रहेको छ। अयोध्यामा राममन्दिरको मुद्दाले भारतको राजनीतिमा ठूलो असर पारेको छ। हिन्दुहरुले राममन्दिर भत्काएर बाबरी मस्जिद बनाइएको भन्दै भत्काइदिएका थिए। उक्त घटनापछि त्यहाँ दंगा भड्किएको थियो। तर, दुई दशकपछि राम मन्दिर निर्माणको पक्षमा फैसला आएको छ।

नेपालको जनकपुर र भारतको अयोध्याबीच सांस्कृतिक सम्बन्ध स्थापित गरी रामायण सर्किटको सोच बनाएर काम भइरहेको छ। जनकपुर र अयोध्याबीच बस सेवा सञ्चालनमा छ।