बाढी, पहिरोमा परी ८५ जनाको ज्यान गयो, ४६ बेपत्ता


काठमाडौँ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक महिना नेपालमा बाढी, पहिरो र डुवानका कारण ८५ जनाको मृत्यु भएको छ।

त्यस्तै ४६ जना बेपत्ता भएका छन्। प्राधिकरणका अनुसार जेठ ३१ गतेदेखि असार २९ गतेसम्म भएका बाढी, पहिरो र डुवानका घटनामा १५ भन्दा बढी जिल्ला प्रभावित भएका छन्। यस क्रममा ५० जना घाइते भएका छन् भने १३४ घर क्षति भएको छ।

सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ। असार २६ गतेको पहिरोले म्याग्दीमा २८ जनाको मृत्यु, ४ जना बेपत्ता र १२ जना घाइते भएका छन् । पहिरोका कारण ३७ घर प्रभावित भएको छ।

प्राधिकरणका अधिकारीले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दिएको जानकारीअनुसार जेठ ३१ गते पर्वतमा पहिरोमा परी ९ जनाको मृत्यु र १ जना घाइते भएका छन्। यहाँ २ वटा घर पुरिएको छ। असार ८ गते पाल्पाको तानसेन नगरपालिमा पहिरोका कारण ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। २ वटा घरमा क्षति पुगेको छ।

असार १९ गते बझाङमा गएको पहिरोका कारण ७ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भएका छन्। पहिरोका कारण १७ घर प्रभावित भएका छन्। असार १८ गते गुल्मीमा ४ जनाको मृत्यु, ७ जना घाइते र १ जना बेपत्ता भएका छन्। पहिरोका कारण ५ घरमा क्षति भएको छ।

असार २५ गते सिन्धुपाल्चोकमा बाढीका कारण ३ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन्। त्यस्तै ५ जना घाइते र ५० घरमा क्षति भएको छ।

असार २६ गते लमजुङमा ३ जनाको मृत्यु भएको छ भने एउटा घर डुबेको छ। असार २६ गते नै कास्कीमा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

रुकुम पश्चिममा असार २६ गते नै पहिरोका कारण २ जनाको मृत्यु भएको छ। त्यसै दिन जाजरकोटमा ११ जनाको मृत्यु, ३ जना बेपत्ता र २ जना घाइते भएका छन्। असार २६ गते गुल्मीमा पहिरोले १ जनाको मृत्यु भएको छ। असार २८ गते सर्लाहीमा बाढीका कारण १ जनाको मृत्यु भएको छ।

असार २८ गते संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन् भने ८ घरमा क्षति भएको छ। असार २९ गते सोमबार तनहुँमा पहिरोका कारण ६ जनाको मृत्यु, ५ जना बेपत्ता भएका छन्। अन्य केही जिल्लामा बाढी र पहिरोका घटना भए पनि मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ।

बाढी र पहिरोका कारण पछिल्लो एक हप्तामा बढी क्षति भएको छ। अत्यधिक वर्षा भएका कारण जनधनको क्षति बढी भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।