कर्णाली प्रदेशका विषयगत समितिले पाए २७ महिनापछि नेतृत्व



सुर्खेत। कर्णाली प्रदेशसभाका विषयगत समितिहरुले गठन भएको २७ महिनापछि आइतबार नेतृत्व पाएका छन्।

प्रदेशसभा सचिवालयले असार २८ गते निर्वाचनमार्फत संसदीय समितिको नेतृत्व चयन गरेको हो। अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा गणेश प्रसाद सिंह ‘जाजरकोट’, बिधान तथा प्रदेश मामिला समितिको अध्यक्षमा दानसिंह परियार ‘मुगु’, सामाजिक विकास समितिको अध्यक्षमा देवी ओली ‘रुकुम पश्चिम’ र सार्वजनिक लेखा समितिको अध्यक्षमा दिनबन्धु श्रेष्ठ ‘जुम्ला’ निर्वाचित भएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण समितिले नेतृत्व पाउन सकेको थिएन। मिनि संसदका रुपमा लिइने संसदीय समितिले लामो समयसम्म नेतृत्व पाउन नसक्दा प्रदेशसभा सचिवालय र सत्तारुढ नेकपाको आलोचना हुने गरेको थियो।

समितिमा हालसम्म सदस्यमध्येबाट ज्येष्ठताका आधारमा अध्यक्षता गर्ने गरिएको थियो। अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षता नेकपाका अम्मरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षता नेकपाका पदमबहादुर रोकाय, सामाजिक विकास समितिको अध्यक्षता नेकपाकै राजु नेपाली र सार्वजनिक लेखा समितिको अध्यक्षता नेपाली काँग्रेसका दिनबन्धु श्रेष्ठले गर्दै आएका थिए। २०७४ चैतमा विषयगत समिति गठन भएका थिए।