देशभर वर्षाको वितण्डा, पहाडमा पहिरो, तराईंमा डुवान


काठामाडौँ। लगातारको वर्षाका कारण देशका विभिन्न भू-भागमा धनजनको क्षेती हुन थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनदिनसम्म भारी वर्षा जारी रहने छ। यस अवधिमा सतर्क रहन सरकारले आम नागरिकहरुलाई आह्वान गरेको छ। पहाडमा बाढी, पहिरोको वितण्डा छ भने तराईं डुवानको खतरा छ।

हेरौं कहाँ के भयो ?

कास्कीमा ७ जनाको मृत्यु

कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ। ११ जना घाइते भएका छन्। पोखरा, १८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो। थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको हो।

त्यस्तै पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ। पोखरा २५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको ज्यान गएको छ।

सप्तकोशीका ३० वटा ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएसँगै ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ। त्यस्तै ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ। पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ। पानीको बहाव यो वर्षकै उच्च हो।

म्याग्दीमा पहिरोमा परेर ३२ जना बेपत्ता

म्याग्दीका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन्। धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना हराइरहेको म्याग्दी प्रहरीले जानकारी दिएको छ।

धौलागिरीको मराङमा मात्र २२ जना पहिरोमा हराइरहेको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिएका छन्। धौलागिरिकै ताकममा २ जनाको ज्यान गइसकेको खबर आएको छ,त्यहाँका जनप्रतिनिधिबाट। मालिका गाउँपालिकामा पनि ८ जना हराइरहेको खबर आएको छ,’ डिएसपी कुँवरले भने, ‘मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराइरहेको खबर आएको छ।’

लमजुङमा एकै परिवारका ३ जनाको ज्यान गयो

अबिरल वर्षाका कारण बेंसीशहर नगरपालिका ७, सातबिसेका एकै परिवारका ३ जनाको मृत्यु भएको हो। बेंसीशहर नगरपालिका १० स्थित स्थायी ठेगाना भएका दीपक तामाङ, उनको श्रीमति अन्दाजी बिमाया तामाङ र छोरा छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

उनका अनुसार बर्षाका कारण बिहीबार राति साढे १० बजेतिर उनीहरु बस्दै आएको घरलाई पहिरोले पुरेको थियो। मृतक ३ जनाको शव अहिले लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ।

रुकुम पश्चिममा एकै परिवारका दुई जनाको मृत्यु

रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। पहिराले घर पुरिँदा आठ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ।