भारतीय मिडियाबारे सरकारले कानूनी उपचार खोज्ने


काठमाडौँ। सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने जानकारी दिएको छ।

सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सञ्चारमन्त्री डा.युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताएका हुन्।

पत्रकार सम्मेलनमा मन्त्री खतिवडालाई नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा प्रश्न गरेका थिए। भारतीय टिभी च्यानललाई रोक लगाउनुपर्ने आवाज उठिरहेको छ, सरकारले के गर्छ भन्ने प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका िथए।

मन्त्री खतिवडाले भनेका छन्, ‘सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ। दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ। सरकारले मिडियालाई प्रतिवन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको छ। कुटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने हुन्छ।’

भारतीय टिभीबाट प्रसारित समाचारबारे उनले भने, ‘हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्‍याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गछौं। यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन्। राजनीतिक र कानूनी दुवै उपचार खोज्नुपर्ने हुन्छ।’

प्रधानमन्त्री ओलीका विरुद्ध आपत्तिजकन टिप्पणी

भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ। प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेको हो।

‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ। चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको भनेको छ।

आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढायी, लेकिन वा हनी ट्र्याप मे फसगए।’

राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दाबीसमेत गरिएको छ। यसलाई पुष्टि गर्न ओली र यान्छीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ। भारतीय टीभीको अफवाह यतिमा मात्रै सीमित छैन।

उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरहेको भन्नसमेत भ्याएको छ। यसको जानकारी नेपालका केही सांसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दाबी गरिएको छ।

उक्त रिपोर्टमा नेपालमा भएको ‘इनफ इज इनफ’ आन्दोलनका फुटेजहरुलाई अपव्याख्याका साथ प्रयोग गरिएको छ। यसैगरी, चीनको दूतावास अगाडि कृष्ण पहाडीलगायत केही व्यक्तिहरुले गरेको प्रदर्शनलाई पनि गलत तरिकाले जोडिएको छ।

नेपालको सरकारले आफ्नो अतिक्रमित भूमिलाई समावेश गर्दै नयाँ नक्शा प्रकाशित गरेयता भारतीय टीभी च्यानलहरुले अनेक भ्रामक समाचारहरु प्रशारण गर्दै आएका थिए। भारतको ख्यातिप्राप्त अखबार टाइम्स अफ इन्डियाले समेत प्रधानमन्त्री ओलीको फोटोलाई गोरुको टाउकोमा जोडेर दुरुपयोग गरेको थियो।

अहिलेसम्म नेपालले कुनै पनि स्तरबाट ती समाचारहरुको खण्डन गर्ने वा ती च्यानलहरुमाथि एक्सन लिने काम गरेको छैन। त्यसैले पनि भारतीय च्यानलहरुको मनपरी झन बढ्दै छ। जी टीभीको हर्कत यसैको उत्कर्ष हो। नेकपाभित्रको विवाद र प्रधानमन्त्री ओलीको राजीनामा मागिएको विषयलाई भारतीय च्यानलहरुलाई पनि अतिरञ्जित तरिकाले प्रस्तुत गरिरहेका छन्। उनीहरुले नयाँ नक्सा प्रकाशित गरेकै कारण सरकारको राजीनामा मागिएको झुटो दाबी गरेका छन्।