अनेरास्ववियूले सडक रोज्नु रहर कि बाध्यता ?


 

समाचार/टिप्पणी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिखेर आन्तरिक कहलको चरम विन्दुमा छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि स्वेच्छाचारीता र पार्टीको केन्दीयता विपरित चलेको आरोपमा बहुसंख्यक सदस्यहरुले उनको राजिनामा माग गरिरहेका छन्।

सचिवालयमा र स्थायी कमिटीमा प्रष्ट रुपमा अल्पमतमा परेका प्रधामन्त्री ओली पार्टी बहुमको निर्णय नमान्ने चट्टानी अडानमा छन्। अर्को तर्फ जारी स्थायी कमिटी बैठकमा सहभागि ३१ जना सदस्यहरुले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा दिनुपर्नेमा उभिएका छन्।

यसरी आन्तरिक विवादमा फसेको नेकपालाई मिलाउनको लागि चीनियाँ राजदुत होउ यान्छी सक्रिय बनेकी छन्। पार्टीभित्रका केही नेताहरुले पनि एकता जोगाउन र पदलाई प्राथामिकतामा नराख्न भनिरहेका छन्।

अनेरास्ववियुका पूर्व अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैर स्थायी कमिटीले पार्टीको विवाद समाधान गर्न नसक्ने भन्दै केन्द्रीय सदस्यहरुको बैठक बोलाउनु पर्ने बताउछन्।

यता नेकपाको भ्रातृ संगठन अनेरास्ववियूको हालत पनि भिन्न छैन। संयोजक ऐन महर प्रधानमन्त्री ओलीको पक्षमा सडक आन्दोलनको आह्वान गरिरहेका देखिन्छन्। संगठनका सहसंयोजक रञ्जित तामाङ घुमाउरो भाषामा संयोजकका क्रियाकलापहरुलाई नौटङ्की भनिरहेका छन्।

सहसंयोजक तामाङको स्टाटस

संयोजक महर ‘आजलाई होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ आइएम वीथ ओली’ भन्ने लाइनमा छन्। तामाङ आज, भोलि र सधैलाई साथी, व्यक्तिभन्दा विधि र पार्टीमाथि’ आइएम वीथ नेकपा’ भन्दै अभियान चलाइरहेका छन्।

यसरी हेर्दा अनेरास्ववियूको एक खेमा सरकारको पक्षमा जोडबलले लागि परेको देखिन्छ भने अर्को पक्ष सरकारले ठिक गरिरहेको छैन भन्ने लाइनमा देखिन्छ। पार्टीको आन्तरिक विवादलाई लिएर एक पक्षले अर्को पक्षका विरुद्धमा साइवर क्यापेनिङसमेत चलाई रहेका छन्। खुलेर अनेरास्ववियूको नेतृत्वका विरुद्धमा अभिव्यक्ति दिन आफू पक्षिय कार्यकर्ताहरु परिचालन गरिरहेको सुनिन्छ। अर्को कुरा विभाजित बनेको नेतृत्वलाई एकजुट हुन र शैक्षिक मुद्धमा केन्द्रीत बन्नका लागि मध्यस्तकर्ताको भूमिका खेल्ने संगठनमा अन्य नेताहरुकाे खडेरी परेको जस्तो देखिन्छ।

पूर्व एमाले र पूर्व माओवादीका विद्यार्थी संगठन मिलेर बनेको ‘अनेरास्ववियू’ले आजका दिनमा शैक्षिक मुद्धाभन्दा पार्टीको आन्तरिक विवादलाई मुख्य विषय बनाइरहेको देखिन्छ। नीजि विद्यालय सञ्चालकहरुले विद्यार्थीहरुबाट मनोमानी रुपमा शुल्क असुल गरिरहेको विषय अनेरास्ववियूका लागि गौण बनेको देखिन्छ। आपत विपतमा परेका जनताहरुको बारेमा अनेरास्वियूलाई सोच्न फुर्सद छैन। कोही डुवान त कोही पहिरोमा परेर जनताहरु पीडामा छन्। यसतर्फ अनेरास्ववियूले प्राप्त ध्यान दिन सकिरहेको छैन।

तर, पार्टीको आन्तरिक विवादलाई लिएर कोरोना महामारीलाई नजरअन्दाज गर्दै चौक चौकमा जम्मा हुने र भिडभाड गर्ने काममा भने अनेरास्ववियू एक कदम अगाडि देखिन्छ। आफ्नो नेतृत्वलाई भेटर वा घरमा पुगेर रचनात्मक रुपले विरोध गर्न नसक्नु अनेरास्ववियूको असक्षमता हो भन्दा फरक नपर्ला

प्रधानमन्त्रीको पक्षमा होस् या पार्टीको पक्षमा। युवाहरुलाई यस्तो महामारीको बेलामा आन्दोलनमा उत्रिन उर्दी दिनुले जनताका बीचमा कस्तो सन्देश जान्छ? यस्ता क्रियाकलापहरु के नैतिक हुन्? नेतृत्वलाई दवाव दिने अन्य धेरै माध्ययम छैनन्? त्यता तिर अनेरास्ववियूको नेतृत्वले ध्यान दिएको पाईंदैन। उल्टै कोरोना फैलावटमा प्रसय पुग्नेगरि अनेरास्ववियू सडकमा आएका समाचार प्रकाशित गर्ने मिडियामाथि खनिने काम भइरहेका छन्।

साथै पार्टीको नेतृत्वले सडक प्रदर्शनलाई गम्भीर रुपमा लिन सकेन र समयमै रोक्न सकेन भने कोरोना महामारी फैलिने डर मात्र होई एक आपसमा मुडभेडको स्थिति सिर्जना हुन सक्छ। यसतर्फ सरकार र नेकपाले समयमै विचार पुर्याउनु पर्छ। अहिलेको आवश्यकता भनेको पार्टीको नेतृत्वलाई एकजुट भएको र एकतावद्ध बनेर खबदारीको सन्देश दिनु हो। कोही ओली पक्ष र कोही प्रचण्ड-माधव पक्ष भएर सडकमा पोखिदा न त अनेरास्ववियू बलियो हुन्छ, न त जनतामा राम्रो सन्देश जान्छ।

यसरी कित्ताकाटको फोहोरी राजनीतिबाट बाहिर आउन सक्नु अनेरास्ववियूका लागि हितकर हुन्छ। पार्टीको विवादलाई लिएर संगठनलाई घाटा हुने र थप मन भाजिने खालका कार्यहुनुले न त संगठनको नेतृत्वलाई फाईदा पुग्छ न त कार्यकर्तालाई नै।