कार्यकर्तालाई राहत र उद्धारमा जुट्न प्रचण्डको अपिल


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका कार्यकर्ताहरुलाई विपतमा परेका नागरिकहरुको उद्धारमा खट्न अपिल गरेका छन्।

सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि अध्यक्ष प्रचण्डले यस्तो अपिल गरेका हुन्।

बिहीबार अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्धार तथा राहतमा सक्रिय भएर जुट्न र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपिल गर्दछु।’

प्रचण्डले अगाडि लेखेका छन्, ‘सिन्धुपाल्चोक, गुल्मी, बझा​ङ लगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको छ। यो स्थितिमा प्राकृतिक प्रकोपमा परिवारजन गुमाउनुभएकाहरुप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु।’

उनले भनेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति वेपत्ता हुनुभएको र घरबारविहिन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्दार तथा राहतमा सक्रिय भएर जुट्न र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गर्दछु। यसका साथै दीर्घकालिनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपील गर्दछु।’