दुई अध्यक्षबीचको दुई घन्टे छलफल निष्कर्ष विहिन



काठमाडौँ। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच झन्डै दुई घन्टा भएको छलफल बिना सहमति टुङगीएको छ।

पार्टीको आन्तरिक विवादलाई लिएर अध्यक्षद्वयबीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल बिनानिष्कर्ष सकिएको हो। बुधबारको छलफलमा ओली(दाहाल मात्र थिए।

दुवै नेताबीच भएको छलफलबाट कुनै निष्कर्ष ननिस्किएको दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले बताए। असार १० गतेदेखि चलिरहेको स्थायी कमिटी बैठक २६ गतेसम्मका लागि स्थगित गरेर ओली र दाहाल छलफलमा जुटेका थिए।

पार्टी अध्यक्ष र सरकारको नेतृत्वबाट राजीनामा गर्न स्थायी कमिटी सदस्यहरूले माग गरेका थिए। सचिवालयका सदस्यहरूले पनि सोही माग दोहोर्‍याएका थिए।

त्यसपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुवै अध्यक्ष बसेर छलफलबाट समाधान निकाल्नुपर्ने नभए पार्टी विभाजन हुने बताएका थिए। स्थायी कमिटी बैठक चलिरहेका बेला संसद् अधिवेशन अन्त्य गरेपछि नेकपाभित्रको विवाद झन् चुलिएको थियो।