प्रधानमन्त्री ओलीको पक्षमा देशभर प्रदर्शन (फोटो फिचर)


काठमाडौँँ। नेकपाको आन्तरिक विवाद चरम विन्दुमा पुगेको बेलामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको प्रसँग उठेपछि उनको समर्थनमा देशभर प्रदर्शन भइरका छन्।

बुधबार प्रधानमन्त्री ओलीको पक्षमा काठमाडौं उपत्यकाका सात स्थानमा प्रदर्शन भएको छ। कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको हो।

सामाजिक सञ्जाल फेसबुकमा मार्फत प्रधानमन्त्री ओलीको समर्थनमा बनेको ‘ग्रुप’को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, ‘आई एम विथ केपी ओली’, ‘हिमी केही जान्दैनौं’, ‘विदेशी हस्तक्षेप मान्दैनौं’ जस्ता नारा लगाएका थिए।

असार १४ गते स्व. मदन भण्डारीको ६९औं जन्मोत्सवको दिन प्रधानमन्त्री ओलीले भारतसँगै उसैको इशारामा नेकपाका नेताहरुले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको अभिव्यक्ति दिएका थिए। त्यति बेलादेखि नै ओलीको पक्ष देशभर प्रदर्शन हुन सुरु भएको हो।