काठमाडौँ। नेपाल विद्यार्थी संघको केन्द्रीय कार्य समितिको कार्यकाल जम्मा २२ दिन बाँकी छ।
१६ माघ २०७६ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ठाडो निर्देशनमा संगठनको सभापतिमा राजिव ढुङ्गनालाई नियुक्त भएका थिए। ६ महिनाभित्र नेविसंघको १२औं महाधिवेशन गर्ने गरी ढुङ्गानालाई तदर्थ समितिको अध्यक्ष चयन गरिएको थियो। तर, जम्मा २३ दिन बाँकी रहँँदासम्म पनि केन्द्रिय समितिले समेत पूर्णता पाएको छैन।
नेविसङ्घ केन्द्रीय समितिलाई पूर्णता दिन माग र १२औं महाधिवेशनको माग गर्दै नेविसङ्घका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल समुहले पार्टी कार्यालयमा धर्ना दिइरहेको छ।
असार १६, २१ र २२ गते सानेपा स्थित कांग्रेसको केन्द्रिय कार्यालयमा रिमाल समूहले धर्ना दिएको थियो। नेविसङ्घका पूर्वअध्यक्ष नैनसिंह महरको नेतृत्वले विधानअनुसार महाधिवेशन गर्न नसकेपछि पार्टीले राजीव ढुङ्गानाको अध्यक्षतामा नेविसङ्घ गठन गरेको थियो। महरको पालामा जम्मा २० जिल्लामा संगठनको जिल्ला अधिवेशन भएको थियो। नेविसंका पूर्वकेन्द्रीय सदस्य अर्जुन बम महरकै कार्यकालमा थप ६ महिना मात्रै समय थपेको भए संगठनको केन्द्रीय महाधिवेशन उतिबेलै सम्भव हुने बताउछन्।
नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालका अनुसार महाधिवेशन गर्नका लागि पार्टीले १५१ सदस्यीय तदर्थ समिति बनाउने निर्णय गरे पनि हाल १० जनामात्र मनोनित छन्।
रिमालले कर्णाली सन्देशसँगको कुराकानीमा भने, ‘पार्टीले छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि तदर्थ समिति गठन गरे पनि पाँच महिना बितिसक्दासमेत नेविसङ्घले पूर्णता पाउन नसक्नु विडम्बना हो”, नेविसङ्घभित्र हाल एक अध्यक्ष, दुई उपाध्यक्ष र सात महामन्त्री मात्र रहेका छन्।’
संगठनको गतिशीलता, प्रभावकारीता र अस्तित्वरक्षाका लागि आन्दोलनको नेतृत्व लिइरहेका संगठनका निवर्तमान कोषाध्यक्ष रिमाल भन्छन्, ‘नेविसंघको केन्द्रीय समितिलाई पुर्णता दिई महाधिवेशनको तालिका सार्वजानिक गरियोस्। नेविसंघको बिधान अनुसार वर्तमान कार्यसमितिले महाधिवेशन गरिसक्नुपर्ने समय २०७७ साउन १६ गतेसम्म रहेकोे स्मरण गराउदछु।’
नेपाली कांग्रेसको बिधानको धारा ४२ को १ (च) मा उल्लेखित व्यवस्थाअनुसार, ‘भ्रातृ संगठनले आफ्नो विद्यानअनुसार महाधिवेशन गर्नुपर्छ। विधानमा उल्लेखित अवधिमा महाधिवेशन हुन सकेन भने केन्द्रीय समिति स्वतः खारेज हुनेछ र पार्टीको केन्द्रीय समितिले तत्काल अधिवेशन गर्ने आवश्यक व्यवस्था गर्नेछ।’ यसका सन्दर्भमा जान्नका लागि सभापति ढुङ्गानालाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।