नेकपाको आन्तरिक विवादमा चीनको अनावश्यक चासो



काठमाडौँ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाको आन्तरिक विवाद मिलाउनका लागि दौडधुप तीव्र पारेकी छन्।

चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गरिरहेका छन्। कुनै पनि देशका राजदुतहरुले यसरी विवादित बनेको विषयमा प्रत्यक्ष सरोकार राख्नु र परराष्ट्र मन्त्रालयसँग कुनै अनुमति नलिएर पूर्व प्रधानमन्त्रीहरुलाई भेट्न पाउँदैनन्। तर, नेपाली राजनीति उथलपुथल हुँदा भारत-चीन सक्रिय भूमिका देखा पर्छन्।

सरकारले गत बैशाखमा ल्याएको दल विभाजन र संवैधानिक परिषदको अध्यादेशले नेकपाभित्र विवाद सिर्जना गरेको बेलामा पनि चीनियाँ राजदुत रातारात सक्रिय बनेकी थिईन्। त्यसक्रममा उनले नेकपाका शीर्ष नेताहरुलाई भेटेपछि विवाद केही मत्थर भएको थियो।

अहिले सत्तारुढ नेकपा आन्तरिक कलहका कारण फुटको संघारमा आइपुगेको विश्लेषण भइरहेका बेलामा चीनियाँ राजदुतको सक्रियता निक्कै बढको देखिन्छ।

राष्ट्रपतिदेखि झलनाथसम्मलाई भेटिन

केही दिन पहिले यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका खवरहरु सार्वजनिक भएका थिए। असार २१ गते पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी यान्छीले २३ गते मंगलबार नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन्।

भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन्। खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो। कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ।

नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ। नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ।

नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको थियो।

ओली पक्षले राजीनामा नदिने बरु नयाँ पार्टी खोल्ने धम्की दिएपछि ओली इतर समूह केही मत्थर देखिएको छ। नेकपाभित्रको विवाद मत्थर हुनुलाई कतिपयले चिनियाँ राजदूतको सक्रियतासँग पनि जोडेर हेर्ने गरेका छन्।