कोरोना अपडेट: सोमबार पाँच हप्तामा सबैभन्दा कम संक्रमित


काठमाडौँ। सोमबार थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो दैनिक सङ्क्रमणको सङ्ख्या गएको पाँच हप्तामा सबैभन्दा कम हो।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ।

यसैगरी बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना भाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ।

२५ प्रयोगशालाबाट बितेको २४ घण्टामा ४७२१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन्। पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन।