‘नीजि विद्यालयले शुल्क उठाउन बन्द नगरे भौतिक कारबाही हुन्छ’


काठमाडौँ। नीजि विद्यालयहरुले विद्यार्थीहरुबाट अनलाइन कक्षाको नाममा शुल्क उठाएको भन्दै अखिल क्रान्तिकारीले प्याब्सनको कार्यालयमा धर्ना दिएको छ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आफ्ना मागहरुको सुनुवाइ नगरिए सशक्त आन्दोलन गर्ने बताएका छन्।

अखिल क्रान्तिकारीले ‘शैक्षिक दलालहरु होसियार, वैज्ञानिक शिक्षा लागू गर, शैक्षिक माफिया होसियार, प्याब्सन र एनप्याब्सन खारेज गर’ जस्ता नाराहरु लगाएको छ। अध्यक्ष गजुरेलले विश्व मानव जगत कोरोनाको करहका विरुद्ध जुधिरहेको बताउँदै नेपालमा नीजि विद्यालयहरुले अनेक बाहनामा विद्यार्थीहरुबाट शुल्क उठाइरहेको बताए।

उनले भने, ‘हामीले कयौं पटक सम्बन्धित मन्त्रालय र निकायसँग यसका बारेमा सुझाव सल्लाह गर्यौं। तर, हाम्रा मागहरुको सुनुवाई भएन। अहिले हामीले भनिरहेका छौं कि कोरोनाको कहर जहिले सहज हुन्छ त्यसबेलासम्म कुनै पनि बाहनामा शुल्क लिन मिल्दैन।’

उनले अगाडि भने, ‘यदि जबरजस्त शुल्क उठाउन थालियो भने हामीले भौतिक कारबाही गर्नेछौं। अर्कातर्फ शिक्षकहरुलाई तलब दिइएको छैन। तर, उनै शिक्षकहरुलाई तलब दिनुपर्ने भन्दै बाहना बनाउन मिल्छ?’

तस्बिर: मुकुन्द कालिकोटे