(नेकपा) स्थायी कमिटीको बैठक स्थगित


काठमाडौँ। सोमबारका लागि लय गरिएको (नेकपा) स्थायी कमिटीको बैठक स्थगित भएको छ।

केपी शर्मा ओली र प्रचण्ड-माधव नेपाल समूहबीच निर्णायक वार्ताको प्रयास भइहरको र सहमति नजुटेको भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो।

यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो। तर, ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो।

शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल हुँदै आए पनि सहमति पुगेको छैन। सोमबार बिहान पनि नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन्। यसअघि भएका सहमतिका प्रयासमा खासै प्रगति नभएपछि नेकपा फुटको संघारमा पुगेको चर्चा चलेको छ।

स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ।

प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन्। तर, प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिएका छन्।