नेता नेपाल र चीनियाँ राजदुतबीच गोप्य भेटवार्ता


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कहले उग्ररुप लिइरहेको बेला बेला पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच गोप्य भेटवार्ता भएको छ।

आइतबार साँझ नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ उनकै निवास कोटेश्वर पुगेकी थिइन्। नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ राजदूत र नेता नेपालबीच भेट भएको पुष्टि गरे। तर, भेटमा भएका कुराकानीका विषय भने खुलेको छैन। यद्यपि चिनियाँ राजदूतले नेकपाको आन्तरिक विवादबारे चासो राखेको बताइएको छ।

गत वैशाखमा पनि नेकपाभित्र आन्तरिक कलह बढ्दा राजदूत होउले सक्रियता देखाएकी थिइन्। त्यसबेला उनले राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेताहरुसम्मलाई छुट्टाछुट्टै भेटेकी थिइन्।

त्यसबेलादेखि नेकपाको विवाद मिलाउन भूमिका खेलेको भनेर राजदूत होउमाथि आरोप लाग्दै आएको छ। तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतामा पनि पहल गरेको भनेर चीनमाथि आरोप लाग्ने गरेको छ।